जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च
एजेन्सी । जापानको बेरोजगारी दर अगस्टमा तीन वर्ष यताकै उच्च देखिएको छ । कोरोना भाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा त्यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो ।
जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको जापान सरकारले हिजो तथ्याङ्कमा सार्वजनिक गरेको थियो । आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको छ ।
जुलाईमा बेरोजगार दर २.९ प्रतिशत रहेकोमा यो अगस्टमा तीन प्रतिशत पुगेको हो । तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महिनाको तुलनामा यहाँ बेरोजगार दर ३.१ प्रतिशतले बढेको हो ।
गत वर्षभन्दा यो वर्ष जापानमा चार लाख ९० हजार बढी व्यक्ति बेरोजगार हुँदा कूल २६ लाख व्यक्ति बेरोजगार बनेका छन् । जापानको श्रम मन्त्रालयका अनुसार अगस्टमा रोजगार उपलब्धता दरमा लगातार आठौँ महिना कमी देखिएको छ । जापानमा सन् २०१४ को जनवरीपछि पहिलो पटक यो रफ्तार आएको हो ।
प्रतिक्रिया