राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै असोज २० मा
काठमाडौं । आगामी मंगलबार अर्थात असोज २० गते मंगलबार राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त दिन सात बर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘घ’ बिक्री गर्न लागेको हो ।
निष्काशन मिति यही असोज २१ र सावाँ भुक्तानी मिति २०८४ असोज २१ गते तोकिएको ऋणपत्र खरिदको लागि आगामी मंगलबार तीन बजेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिदको लागि आवेदन दिन सक्ने छन् । ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । यो ऋणपत्रको खरिदकर्ताहरुलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा छुट्याइएको यो ऋणपत्र प्रतिस्पर्धी समूहलाई कुल निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र भने अप्रतिस्पर्धी समूहलाई बिक्री गरिनेछ ।
खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर ऋणपत्र खरिद गर्नसक्ने छन् । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । तर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीरुपमा भाग लिन पाउने छैनन् । राष्ट्र बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने छ ।
प्रतिक्रिया