सोमबार, वैशाख ८, २०८२

सोमबार ३.६३ अंक तल झर्‍यो बजार, २ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज १९ गते १६:३२

काठमाडौं । सोमबार शेयर बजार ३ दशमलव ६३ अंक तल झरेको छ । यो दिन एक हजार ५८७ दशमलव ३१ विन्दुदेखि खुलेको बजार अन्तिममा एक हजार ५८२ दशमलव १३ विन्दुमा गएर बन्द भएको हो । आइतबार १४ दशमलव ७१ अंक बढेर १ हजार ५८५ दशमलव ७५ विन्दुमा बजार बन्द भएको थियो । सोमबार २ बजेर २० मिनेटसम्म बढेको बजारमा त्यसपछि भने लगानीकर्ताहरुले नाफा बुक गरेका हुन् ।
सोमबारको बजारमा १९३ कम्पनीको २ अर्ब ५७ करोड ८६ लाख ७ हजार रूपैयाँ बराबरको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर कारोबार भएको छ । यो दिन सर्वाधिक रकमको कारोबार गर्ने पहिलो नम्बरमा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । यस कम्पनीको १४ करोड ९१ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४ ले घटेर अन्तिम मूल्य रू. ८८७ मा झरेको छ ।

यस दिन रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र कामना सेवा विकास बैंक लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ । रैराङ हाइड्रोको यस प्रतिकित्ता रू. १७ ले बढेर दिन अन्तिममूल्य रू. १८७ र कामना सेवाको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२० कायम भएको छ । सोमबार प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक ७ दशमलव १९ प्रतिशतले घटेको छ । प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १० ले घटेर अन्तिम मूल्य रू. १२९ कायम भएको हो ।

सोमबार कारोबारमा आएका १२ समूहहरुमध्य पाँच समूहको बढेको छ भने सात समूहको परिसूचक घटेको छ । यस दिन जलविद्युतको सर्वाधिक २ दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ । त्यस्तै विकास बैंकको १ दशमलव २४ प्रतिशत, होटलको शून्य दशमलव २४ प्रतिशत, अन्यको शून्य दशमलव १२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ८२ प्रतिशत परिसूचक बढेको हो ।

सोमबार सर्वाधिक परिसूचक उत्पादन तथा प्रशोधन समूहको घटेको छ । उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ६७ प्रतिशतले परिसूचक घटेको हो । यो दिन निर्जीवन बीमा समूहको १ दशमलव ४३ प्रतिशत, बैंकिङको शून्य दशमलव ३१ प्रतिशत, व्यापारिकको शून्य दशमलव ६७ प्रतिशत, वित्तको शून्य दशमलव ५५ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४२ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८४ प्रतिशत परिसूचक घटेको हो ।

प्रतिक्रिया