विश्वका १० प्रतिशत मानिसमा कोरोना संक्रमण : डब्ल्युएचओ
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) संक्रमणले यतिबेला विश्वलाई नै त्रसित बनाएको छ । हालसम्म विश्वका ३ करोड ५६ लाख बढी मानिसमा यसको संक्रमण भइसकेको छ भने १० लाख ४५ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन ।
हालसम्म २ करोड ६८ लाख मानिस भने उपचार पछि निको भइसकेका छन् । यस्तैमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १० प्रतिशत मानिस कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुन सक्ने बताएको छ । डब्लुएचओले विश्वमा रहेका हरेक १० मानिसमध्ये एक जना संक्रमित हुनसक्ने बताएको हो ।
डब्लुएचओका एक उच्च अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार अझै विश्वका धेरै क्षेत्रमा जोखिम कायमै छ । विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएको डब्लुएचओको तथ्यांक छ । तर, पुष्टि भएकाको संख्या भन्दा वास्तविक संक्रमितको संख्या कयौँ गुणा धेरै हुने विज्ञले बताउँदै आएका छन् ।
कोरोना महामारीको विषयमा छलफलका लागि स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो । महामारीको १० महिना भइसक्दा पनि अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत देखिएको छैन् ।
प्रतिक्रिया