प्रदेश- ५ राजधानी विवाद : राजधानी दाङ राख्ने प्रस्तावमा आज मतदान हुँदै, विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप जारी
बुटवल । प्रदेश-५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको थियो ।
सभामुख पूणर्बहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् । बिहान साढे ८ बजेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन दर्ताको समय मंगलबार साढे १० बजे सकिँदैछ ।
प्रदेशसभा सचिवालयका अनुसार बिहान साढे आठ बजेसम्म जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट(अवध(मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको छ । पार्टीका प्रमुख सचेतक सहसराम यादव र सदस्य पुर्मती ढेंगा मगरले संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका छन् । देशसभाका नेकपाका प्रमुख सचेतक एवं कार्य व्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले मंगलबारको बैठकमा संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने बताए ।
राजधानी दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप जारी
प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश-५ को स्थायी राजधानी दाङको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निणर्य हुन सक्ने भएकाले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्वीप जारी गरेको कांग्रेसकी सचेतक निमला क्षेत्रीले जानकारी दिएकी छिन् ।
उनले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निणर्य भएको तर नामका बारेमा भने कांग्रेसको असहमति नरहेको स्पष्ट पारिन् । कांग्रेसले निणर्य गरे पनि कांग्रेसका केही सांसदहरुले ह्वीप उल्लंघन गरेर मतदान गर्ने सम्भावना रहेको नेपाली कांग्रेस दाङका एक सांसद बताउँछन् । प्रदेशमा नेपाली कांग्रेसका १९ जना सांसद छन् । यसमध्ये राप्ती र भेरी अञ्चलका ६ जना छन् । उनीहरु दाङकै पक्षमा मतदान गर्ने तयारी गरेको ती सांसदले बताएका छन् ।
प्रदेश सरकारको निणर्यपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका छन् । उक्त प्रस्तावमाथि सोमबार छलफल भएको थियो । मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफ समेत दिइसकेका छन् । प्रदेशसभामा ८७ जना सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुई तिहाइ मत चाहिन्छ । त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ ।
प्रतिक्रिया