राष्ट्र बैंकद्वारा लाभांश वितरण सम्वन्धी नयाँ कार्यविधि जारी
काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस वितरण तथा घोषणा गर्न पाउने भएका छन् । राष्ट्र बैंकले आज मंगलबार लाभांस वितरण सम्वन्धी कार्यबिधी २०७२ खारेज गर्दे लाभांस स्वीकृत गर्ने सम्वन्धी कार्यबिधी २०७७ जारी गरेपश्चात उक्त व्यवस्था कार्यान्वयनमा आएको हो ।
यो व्यवस्था अनुसार बैक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाबाट राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी लाभांश घोषणा तथा वितरण गर्न पाउने छैनन् । आर्थिक वर्ष २०७६÷७७ को लागि इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले सो आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने छन् । तर, यस्तो नगद लाभांश इजाजतपत्र प्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नहुने तथा खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुंजीको पाँच प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउँदैनन, कार्यबिधीमा भनिएको छ ।
यसरी वितरणयोग्य मुनाफा गणना गर्दा कुनै अस्पष्टता नरहोस भन्ने हेतुले यस वर्षको मुनाफामा यस वर्षभन्दा अघिको वर्षहरुबाट संचित रहेको वितरणयोग्य मुनाफालाई जोडेर यस वर्षको लागि कुल वितरणयोग्य मुनाफा गणना गर्न बाधा नपर्ने कार्यबिधीमा उल्लेख छ । बैंकले तोके बमोजिम मासिकरुपमा औसत व्याजदर अन्तर कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने व्यवस्था रहेको छ । यसैगरी बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको मितिले पाँच वर्ष पुगेपछि र सर्वसाधारणमा शेयर जारी गरेपछि चुक्ता पूँजीको दुई प्रतिशतभन्दा बढी शेयर धारण गर्ने संस्थापकले आफ्नो नाममा रहेको शेयर धितो बन्धक राखी कर्जा लिंदा राष्ट्र बैंकको स्वीकृति नलिएको अवस्थामा त्यस्तो शेयरधनीहरुलाई कर्जा चुक्ता नभएसम्म बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने नगद लाभांश वा बोनस शेयर रोक्का राख्नु पर्ने व्यवस्था पनि कार्यबिधीले गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४७ उपदफा (२) अनुसार सम्पूर्ण प्रारम्भिक खर्च अपलेखन गरेको, अघिल्लो वर्षसम्म हुन गएको नोक्सानी बाँकी नरहेको, तोकिएको पुँजी कायम गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको, सम्भावित नोक्सानी व्यवस्थामा छुट्याउनु पर्ने रकम छुट्याएको, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४४ बमोजिम साधारण जगेडा कोषमा विनियोजन गरेको, सर्वसाधारणलाई छुट्याइएको शेयर पूर्ण रुपमा बिक्री बितरण गरेको, शेयर प्रिमियमको रकमबाट नगद लाभांश घोषणा एवं वितरण गर्न स्वीकृति नदिने व्यवस्था रहेको छ । यसबाहेक कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा एक प्रतिशतसम्म मात्र लगानी गर्न सकिने विद्यमान व्यवस्था भन्दा बढी हुनेगरी संस्थापक शेयर धारण गर्ने संस्थापक शेयरधनीहरुलाई तोकिएको सीमा कायम नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनश शेयर वितरण रोक्का राख्न लगाउने व्यवस्था कार्यबिधीले गरेको छ ।
प्रतिक्रिया