बैंकर तथा समाजसेवी पौड्याल नबिल बैंकको अध्यक्षमा नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।
२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालककोरूपमा नबिल बैंकमा प्रवेश गरेका थिए । अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएको योगदान सम्मान योग्य छ । उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनिय रहेको छ ।
यसले उनि सक्षम बैंकर रहेको पनि पुष्टि गर्छ । यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहेका थिए । उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए । त्यसपछि, उनि सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुँदै आएका थिए । बैंकलाई आजको अवस्थामा ल्याइ पुर्याउन उनको पनि निकै महत्वपूर्ण भूमिका छ ।
आफ्नो कार्यकाल सफलताका साथ पूरा गरी बैंकलाई नयाँ उचाईमा पुर्याउन सफल भएकोमा अध्यक्ष पौड्याल र सञ्चालक अग्रवालप्रति बैंक आभार व्यक्त गरेको छ । साथै, उनीहरूको आगामी दिन सुखमय रहोस् भन्ने बैंकले कामना गरेको छ । अध्यक्षको पदावधि सकिएसंगै बैंकले नयाँ अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
२०७४ मंसिर १५ गतेदेखि उनि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उनि पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रिय प्रतिनिधिसमेत रहेका छन । विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उनि सफल बैंकरसँगै समाजसेवीका रूपमासमेत परिचित छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनि यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।
जहाँ उनको संलग्नता स्थापनाकालदेखि नै थियो । सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनि बैंकिङ करिअर सुरु गरेका थिए । त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुुगेका थिए । एनएमबीमा उनले १७ वर्ष अनवरत सेवा गरेका थिए । १४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र तीन वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुुलेका छन । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आज पनि उनको योगदानको उच्चकदर हुने गर्छ । होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब छ वर्ष काम गरेका थिए । त्यही अनुभवका आधारमा उनले स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहाँ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उनको अनुभव छ ।
समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष रहेका थिए । दशकौं बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । बैंकले उनको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको छ ।
प्रतिक्रिया