बिहीबार ११.३४ अंक घटेर १६०० विन्दुमुनि ओर्लियो बजार, जलविद्युत कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । मंगलबारदेखि निरन्तर बढेको शेयर बजार बिहीबार भने ११ दशमलव ३४ अंक घटेको छ । बुधबार एक हजार ६०० विन्दु पार गरेको बजार बिहीबार भने नाफा बुकबाट प्रभावित भएको देखिन्छ । यो दिन बजार एक हजार ५८९ दशमलव ६३ विन्दुमा झरेको हो । बुधबार १४ दशमलव ६८ अंकले बढेर एक हजार ६०० दशमलव ९७ विन्दुमा बजार बन्द भएको थियो ।
बिहीबार एक हजार ६०७ दशमलव ५३ विन्दुदेखि खुलेको बजार उतारचढाबकाबीच अन्तिममा घटेर बन्द भएको हो । यो दिन कारोबार सुरु भएको ११ मिनेटमा बजारले १ हजार ६१४ दशमलव शून्य ५ विन्दुमा टेकेको थियो । लगातार तीन बढेको बजारबाट बिहीबार भने लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा बजार घट्न पुगेको विश्लेषकहरु बताउँछन् । बजार करेक्सन भएको हो । आगामी सातादेखि फेरी उकालो यात्रा तय गर्ने जानकारहरुको अनुमान छ ।
बिहीबार दोहोरो अंकले घटेको बजारमा करिब ३ अर्ब रूपैयाँको शेयर कारोबार भएको छ । यो दिन १९३ कम्पनीका २ अर्ब ९० करोड ५० लाख ५७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । बिहीबार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीहरुमध्य पहिलो नम्बरमा अरुण काबेली पावर रहेको छ । अरुण काबेली पावरको यस दिन १२ करोड ४१ लाख ८० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
बिहीबारको कारोबारमा आएका १२ समूहमध्य वित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९१ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्तको शून्य दशमलव शून्य ३ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ ।
यो दिन वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने जलविद्युत समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । परिसूचक घटेका नौ समूहहरु मध्य सर्वाधिक परिसूचक जलविद्युत समूहको ३ दशमलव शून्य ८ प्रतिशतले घटेको छ । यस दिन बैंकिङको शून्य दशमलव ६८ प्रतिशत, व्यापारिकको शून्य दशमलव २२ प्रतिशत, होटलको १ दशमलव ७१ प्रतिशत, विकास बैंक १ दशमलव शून्य १ प्रतिशत, निर्जीवन बीमा शून्य दशमलव ९३ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४३ प्रतिशत, अन्य शून्य दशमलव ५७ प्रतिशत र जीवन बीमा समूहको परिसूचक शून्य दशमलव २५ प्रतिशतले घटेको छ ।
वित्त समूहको सबैभन्दा बढी प्रतिशतले परिसूचक बढेको दिन बिहीबार सर्वाधिक मूल्य बढ्ने दश कम्पनीभित्र अधिकांश वित्त कम्पनीहरु रहेका छन् । यो दिन सर्वाधिक मूल्य बढ्ने कम्पनीहरुमा मल्टिपर्पस फिनान्स कम्पनी लिमिटेड, कर्णाली डेभलपमेण्ट बैंक, समृद्धि फाइनान्स, गोर्खाज फाइनान्स, ग्रीन डेभलपमेण्ट बैंक, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, बेष्ट फाइनान्स, आइसीएफसी फाइनान्स र सेञ्ट्रल फाइनान्स रहेका छन् । यी दश मध्य पनि मल्टिपर्पस फिनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको हो । मल्टिपर्पस फिनान्सको शेयरमूल्य बिहीवार प्रतिकित्ता रू. १४ ले बढेर रू. १५४ पुगेको हो । यो दिन ९ प्रतिशतभन्दा बढीले कर्णाली डेभलपमेण्ट बैंक, समृद्धि फाइनान्स र गोर्खाज फाइनान्सको शेयरमूल्य बढेको छ ।
बिहीबार जलविद्युत कम्पनीहरुको शेयरमूल्य सर्वाधिक घटेको छ । यो दिन सर्वाधिक शेयरमूल्य घट्ने दश कम्पनी सबै जलविद्युत कम्पनीहरु रहेका छन् । सिनर्जी पावर , पाँचथर पावर, लिवर्टी ईनर्जी, रसुवागढी हाइड्रोपावर ,अरुण कावेली पावर, अपि पावर, हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, हिमालयन उर्जा विकास कम्पनी सर्वाधिक शेयरमूल्य घट्ने दश कम्पनीभित्र परेका हुन । यी मध्य पनि सिनर्जी पावरको शेयरमूल्य सर्वाधिक ७ दशमलव शून्य ८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया