बुधबार ७.४२ अंक घट्यो बजार, कारोबार रकम १ अर्ब ४९ करोडभन्दा बढी
काठमाडौं । बुधबार पनि शेयर बजार घटेर बन्द भएको छ । यो दिन बजार ७ दशमलव ४२ अंकले घटेर १ हजार ५६१ दशमलव १७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचकमा सँगै कारोबार रकममा पनि कमि आएको छ । अघिल्लो कारोबार दिन मंगलबार बजार ९ दशमलव ४२ अंक घटेर १ हजार ५६८ दशमलव ५९ विन्दुमा बन्द भएको थियो ।
मंगलबार १९३ कम्पनीको १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार रूपैयाँ बराबरको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर कारोबार भएको थियो । बुधबार भने १९५ कम्पनीको १ अर्ब ४९ करोड ६३ लाख ८७ हजारको शेयर कारोबार भएको छ । यो दिन उक्त रकम बराबरको ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर कारोबार भएको हो ।
यो दिन सर्वाधिक रकमको शेयर कारोबार सानिमा बैंकको भएको छ । सानिमा बैंकको बुधवार रू. ७ करोड २५ लाख ४३ हजार बराबरको शेयर कारोबार भएको हो । सानिमा बैंकले बुधबार नै १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ३ दशमलव ६० प्र्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको हो । कम्पनीको लाभांशका कारण सर्वाधिक रकमको कारोबार भएको हो ।
बुधबार कारोबारमा आएका १२ समूहहरु मध्य बजार बन्द हुदाँ होटल समूहको बाहेक अन्यको घटेको छ । यो दिन होटल समूहको परिसूचक शून्य दशमलव १४ प्रतिशत बढेको हो । विकास बैंकका शेयरधनीहरुले बुधबार सर्वाधिक गुमाएका छन् । बुधबार विकास बैंकको समूहगत परिसूचक सर्वाधिक १ दशमलव ९९ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युतको १ दशमलव १९ प्रतिशत, वित्तको १ दशमलव ३१ प्रतिशत, बैंकिङको शून्य दशमलव २९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७३ प्रतिशत, अन्यको शून्य दशमलव ५८ प्रतिशत, लघुवित्तको शून्य दशमलव २१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६६ प्रतिशत परिसूचक घटेको छ ।
बुधबार पहिलो कारोबार सुरु गरेको जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले बढेको छ । सर्वाधिक शेयरमूल्य बढेको जनरल इन्स्योरेन्स कम्पनीको अन्तिम मूल्य बुधबार रू.३३५ कायम भएको छ । बुधबार घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्य सर्वाधिक घटेको छ । यो दिन घलेम्दी हाइड्रोको शेयरमूल्य ७ दशमलव २६ प्रतिशत अर्थात प्र्रतिकित्ता रू. ९ ले घटेको हो ।
प्रतिक्रिया