बुधबार, वैशाख १०, २०८२

राष्ट्र बैंकले आगामी बुधबार २० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने

नेपालखोज २०७७ कार्तिक १७ गते २१:३५

काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी बुधबार १० वर्षे अवधिको २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्वारा विकास ऋणपत्र २०८७ घ (१० वर्षे) बिक्री गर्न लागिएको हो ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन बिभागद्वारा निष्काशन गरिने ऋणपत्रको जारी मिति कात्र्तिक २० गते बिहिबार तोकिएको छ भने ऋणपत्रको परिपक्व हुने अर्थात् सावाँ भुक्तानी हुने अवधि २०८७ कात्तिक २० गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार ईच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्नेछन् । छुट्ट्याईएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १७ अर्ब र तीन अर्ब रुपैयाँ रहेको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत् हुनेछ ।

प्रतिक्रिया