बुधबार, वैशाख १०, २०८२

प्रभु बैंकको आम्दानी २०.४१ प्रतिशत बढ्यो, खुद नाफा भने ३५.२५ प्रतिशत बढी

नेपालखोज २०७७ कार्तिक २७ गते ११:५१

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको आम्दानीसँगै खुद नाफा बढेको देखिएको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट आय बढेसँगै अन्य सञ्चालन आम्दानीहरु पनि बढेका कारण खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.४१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने खुद फि, कमिशन तथा डिस्काउण्ट आय ३०.७८ प्रतिशत बढेर ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४०.४९ प्रतिशत बढेर १ अर्ब २५ करोड १७ लाख रुपैयाँ पुगेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २८ रुपैयाँ २७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३२ रुपैयाँ ९६ पैसा पुगेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ७।२२ गुणा कायम भएको छ।

१० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकका यी कोषहरुमा क्रमशः ३ अर्ब ८५ करोड र १ अर्ब २२ करोड रुपैयाँ सञ्चित थियो।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकको निक्षेप १ खर्ब २८ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा ९९ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १ खर्ब १६ अर्ब पुगेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३.३२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २.६७ प्रतिशतमा झरेको छ। समीक्षा अवधिमा बैंकको आधार दर ९.२४ प्रतिशतबाट ७.३९ प्रतशितमा झरेको छ भने स्प्रेड ५.१५ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया