बुधबार, वैशाख १०, २०८२

उद्योग वाणिज्य महासंघको चुनाव आज : ढकाल र प्रधानबीच प्रतिष्पर्धा

नेपालखोज २०७७ मंसिर १३ गते ८:३६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ । महासंघको ५४ औं वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ ।

आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाण्डौका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगत तर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ ।

कोरोना सङ्क्रमित मतदाता व्यवसायीहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदानको व्यवस्था मिलाइएको महासंघ निर्वाचन समितिले जनाएको छ । समितिका कुनै विवाद र समस्या नआए आज राति नै मतपरिणाम आउने समितिले जनाएको छ ।

महासंघको वर्तमान विधानअनुसार आजदेखि नै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र चुनाव हुन लागेको हो । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया