बुधबार, वैशाख १०, २०८२

निर्वाचनको क्रममा घानामा हिंसा, पाँच जनाको मृत्यु

नेपालखोज २०७७ मंसिर २५ गते ८:३२

घानामा भएको निर्वाचनका क्रममा हिंसात्मक घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

प्रहरी अधिकारीहरूले निर्वाचन भएको क्षेत्रमा कूल ६१ घटना भएका र केही घाइतेसमेत भएको जनाएका छन्। निर्वाचन भएको दुई दिनपछि प्रहरीले निर्वाचनका क्रममा देशभरी भएको घटना विवरण सार्वजनिक गरेको हो।

कूल घटनामध्ये छ वटा घटनामा गोलीको प्रयोग भएको पनि प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। कडा प्रतिस्पर्धा देखिएको राष्ट्रपतीय निर्वाचनको नतिजा आउनुअघि नै हिंसात्मक घटनाको विवरण सार्वजनिक गरिएको हो।

निर्वाचन आयोगले देशका १६ क्षेत्रमध्ये सात क्षेत्रको मात्रै नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरणअनुसार विपक्षीतर्फका उम्मेदवार जोन महामा थोरै मतान्तरले अगाडि छन् भने बर्तमान राष्ट्रपति नाना अकुफो अड्डो पछि परेका छन्।

गत सोमबार भएको राष्ट्रपतीय तथा संसदीय निर्वाचन सामान्यतः शान्त, स्वतन्त्र र निष्पक्ष नै भएको मानिएको छ । तर पछिल्लो समयमा निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउन थालिएको छ।

घानाको निर्वाचनका लागि बालिग मताधिकार सूचीमा एक करोड ५० लाखभन्दा बढी मतदाताहरूको नाम दर्ता भएको थियो। पश्चिमी अफ्रिकी राष्ट्र घानामा राष्ट्रपति र सांसदहरूको कार्यकाल चार वर्ष हुने संविधानमा उल्लेख छ।

प्रतिक्रिया