जो वाइडेन र कमला ह्यारिस बने टाइम वर्ष व्यक्ति

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस टाइम वर्ष व्यक्ति बनेका छन्।
अन्तर्राष्ट्रिय पत्रिका टाइमले हरेक वर्ष घोषणा गर्ने टाइम वर्ष व्यक्तिमा यो वर्ष वाइडेन र ह्यारिस परेका हुन्।
कुनै वर्षभर अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा बढि प्रभाव पार्न सफल विश्वभरका प्रभावशाली व्यक्तिहरुमध्येबाट एकजनालाई टाइम वर्ष व्यक्ति घोषणा गर्ने गरिन्छ। यो वर्ष भने सो टाइटल संयुक्तरुपमा दुईजनालाई दिइएको हो।
गतवर्ष जलवायु परिवर्तनमा सचेतना जगाएर सानै उमेरमा विश्व चर्चित बनेकी किशोरी ग्रेटा थनवर्ग टाइम वर्षव्यक्ति बनेकी थिइन्।
हालै अमेरिकामा भएको निर्वाचनमा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै वाइडेन र ह्यारिसको जोडीले ह्वाइट हाउसको यात्रा तय गरेको हो।
अमेरिकामा बहालवाला राष्ट्रपतिले नै प्रायः दोस्रो कार्यकालका लागि पनि चुनाव जित्ने गर्छन्। राष्ट्रवादी एजेन्डालाई मुख्य आधार बनाएका बहालवाला राष्ट्रपति ट्रम्पलाई नै चुनाव हराएका कारण वाइडेनले अहिले संसारभर चर्चा कमाएका छन्।
ट्रम्पले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् तर सो आरोपमा अदालत र अन्य निकायबाट उनले समर्थन पाउन सकेका छैनन्।
वाइडेन र ह्यारिसले जनवरी २० देखि कार्यभार सम्हाल्नेछन्।
प्रतिक्रिया