समृद्धिका लागि सहकारी मुख्य क्षेत्र : मुख्यमन्त्री पौडेल

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्र प्रमुख साझेदारका रुपमा रहेको बताएका छन । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत बागमती प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट बिहीवार उद्घाटन कार्यक्रममा यस्तो बताएका हुुन ।
नेपाल सरकारको ‘समृद्ध नेपाल : सुखी नेपाली’ अभियानलाई सफल पार्नका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिदै मुख्यमन्त्री पौडेलले सिंगो सहकारी क्षेत्रलाई रोजगारी सिर्जना र कृषि उत्पादन वृद्धिमा सहकारी बैंकको भूमिका आवश्यक रहेको बताए । सहकारी बैंकले आफ्ना सदस्य संस्थाहरुलाई लगानी गर्दा कृषि, पशुपालन लगायत उत्पादनका क्षेत्रमा केन्द्रीत गर्नु पर्नेमा उनको सुझाव थियो ।

बैंकका सल्लाहकार राधा घलेले सरकारले गरिवी निवारण तथा आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न आवश्यक रहेको धारणा राखे । सबै खाले विकास सहकारीको माध्यामबाट नै सम्भव हुने भएकाले सहकारी बैंकले त्यस सम्बन्धमा समेत आफ्नो कार्य योजनाका बनाउनु पर्नेमा उनको जोड रहेको थियो ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य मित्रराज दवाडीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ ।

गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते र सुदूरपश्चिम प्रदेशको २८ गते सम्पन्न गर्ने तालिका रहेको छ । एकाईसभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
प्रतिक्रिया