दुई दिन बजार बढेर तीन दिन घट्दा ३० अर्बको कारोबार
काठमाडौं । यो साता सेयर बजारमा निकै नै उतारचढाव आएको छ । सुरुवाती कारोवारमा दुई दिन बढेको नेप्से पछिल्ला तीन कार्यदिन भने उच्च अंकले घटेको छ । साताको अन्तिमतिर नेपाल राष्ट्र बैकले मौद्रिक नीति कार्यान्वयनको क्रममा जारी गरेको सेयर धितो कर्जा सम्वन्धी परिपत्रले पनि यो साता सेयर बजारलाई घटाएको छ ।

सोही आधारमा यो साता नेप्से अन्तिम दिन दुई हजार ३१ दसमलव ५१ अंकमा सिमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स तीन सय ८५ दसमलव ९४ अंकमा सिमित भएको छ । नेप्सेमा यो सोता दुई सय पाँच वटा कम्पनीहरुको दुई लाख ५९ हजार दुई सय पाँच पटक सेयर किनबेच भएका छन् । उक्त किनबेचमा चार करोड ४७ लाख ६६ हजार चार सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा कुल सेयर कारोवार रकम ३० अर्ब आठ करोड ७५ लाख १९ हजार एक सय ३५ रुपैयाँमा सिमित हुन पुगेको छ ।
गत साता भने नेप्सेमा दुई सय दुई वटा कम्पनीहरुको दुई लाख ५६ हजार पाँच सय ९९ पटक सेयर किनबेच भएका थिए । सोही आधारमा उक्त साता छ करोड छ लाख तीन हजार २७ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम भने २८ अर्ब ४८ करोड ८५ लाख ४३ हजार सात सय ७० रुपैयाँ पुगेको थियो ।
नेप्सेको नियमित कारोवार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन नेप्से बढेपनि बाँकी तीन कार्यदिन भने नेप्से उच्च अंकले घटेको थियो । सोही आधारमा पहिलो दिन ४६ दसमलव ४३ अंकले बढेर दुई हजार १० दसमलव ४५ अंकमा पुगेको नेप्से दोस्रो दिन पनि ५६ दसमलव ७२ अंकले बढेर दुई हजार ६७ दसमलव १७ अंकमा पुगेको थियो । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने पहिलो दिन आठ दसमलव नौ अंकले बढेर तीन सय ८२ दसमलव ११ अंकमा पुग्दा दोस्रो दिन पनि छ दसमलव चार अंकले बढेर तीन सय ८८ दसमलव १६ अंकमा पुगेको थियो । तेस्रो, चौथो र पाँचौं दिन भने नेप्से क्रमश पाँच दसमलव ७५, छ दसमलव दुई र २२ दसमलव सात अंकले घटेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि यि दिनहरुमा क्रमश शुन्य दसमलव ७४, शुन्य दसमलव ४३ र एक दसमलव चार अंकले घटेको थियो ।
यो साता नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोवार भएकाछन । सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता हिमालयन नेपाल क्रेडिट एण्ड कर्मश बैक, नेपाल बैंक, प्रभु बैंक, नेपाल पुर्नबीमा कम्पनी आदिको बढी कारोवार भएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् ।
यो साता जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, समृद्धि फाईनान्स र रिडी हाईड्रो पावर कम्पनी बोनस, साधारण तथा हकप्रद सेयर नियमित कारोवारका लागि सुचीकृत भएका छन् ।
प्रतिक्रिया