बुधबार, वैशाख १०, २०८२

एफएनसिसिआईका नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल रत्न तथा आभुषण संघद्वारा स्वागत

नेपालखोज २०७७ पुष ६ गते १८:१३

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा स्वागत गरेको छ ।

आईतवार काठमाडौंमा आयोजित सो स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्ने विश्वासका साथ निर्वाचित गरेको भन्दै आफूहरुले सो विश्वासलाई कायम राख्न प्रयास गर्ने बताए ।‘निजी क्षेत्रले एकमात्र नेतृत्व महासंघलाई मानेको हुँदा हामी सबैजनाले एक लक्ष्य र आवाजमा कामगर्ने छौं, अध्यक्ष गोल्छाले भने ।

उनले हालै महासंघ भित्र समिति र फोरम गठन गरिसकेको भन्दै ती समिति र फोरमहरुलाई सक्रिय बनाएर निजी क्षेत्रको विभिन्न समस्याहरु समाधान गर्न पहल गर्ने बताए । हाल देशभित्र सुनचाँदीको गरगहना तयार गर्न दक्ष कामदारको अभाव देखिएको विषयमा जानकार रहेको भन्दै सो विषयलाई सम्बोधन गर्दै आगामी दिनमा नेपालभित्रै कामदार तयार पार्ने प्रयास गर्ने बताए ।

उनले नेपाली गरगहनाको निर्यातमा पनि चुनौती रहेको तर उच्च मूल्य प्राप्त गर्न सकिने सुनचाँदी गरगहनाको निर्यातका लागि समेत रत्न तथा आभुषण संघसँग सहकार्य गर्ने बताए । लगानीको वातावरणलाई सुधार्ने र कसरी दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने योजनासहित काम भईरहेको भन्दै त्यसको लागि वृहत छलफल समेत गरिने अध्यक्ष गोल्छाले बताए ।

त्यसैगरि वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले रत्न तथा आभूषण संघसँग नजिकबाट सहकार्य गर्न तयार भएको भन्दै १० हजार भन्दा बढि सुन व्यवसायी रहेकोमा सरकारले कोटा लगाउनु दुखद रहेको बताए । सुनको अभावले व्यवसायी र कालिगढ पलायन हुनसक्ने जोखिम भएको भन्दै उनले सो समस्या समाधान गर्न प्रयास गर्ने बताए ।

कार्यक्रममा नेपाल रत्न तथा आभूषण संघका पूर्व अध्यक्ष सुरेश श्रेष्ठले नेपाली रत्न तथा आभुषणको व्यवसायमा दक्ष कामदारको समस्या रहेको र त्यसलाई समाधान गर्न कठिन भएको बताए । उनले नेपाली स्टोनहरुलाई उत्खनन गरेर विदेशमा महंगो मूल्यमा निर्यात गर्न सकिने संभावना रहेको भन्दै त्यसको लागि सबैले पहल गर्नुपर्ने बताए । संघबाट अध्यक्ष ज्योत्सना श्रेष्ठका साथै अन्य ३ जना समेत कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाली गरगहना गुणस्तरीय भएपनि सो अनुसार सरकारले निर्यात प्रोत्साहन गर्न नसकेको बताईन् । उनले दक्ष कामदारको अभाव, सुन आयातमा कोटा, स्पष्ट नीति नियमको अभाव हुँदा रत्न तथा आभुषण व्यवसायीहरुले पटक पटक समस्या बेहोर्नुपरिरहेको बताईन् ।

प्रतिक्रिया