बुधबार, वैशाख १०, २०८२

लाप्चेखोला जलबिद्युत आयोजनामा ९ वटा बैंकहरुले १९ अर्ब ६५ करोड लगानी गर्ने

नेपालखोज २०७७ पुष ७ गते १४:३५

काठमाडौं । नेपालमा निजि क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलबिद्युत आयोजना १६० मेगावाटको लाप्चेखोला जलबिद्युत आयोजनाको लागि आबश्यक पर्ने बित्तिय श्रोत जुटेको छ । प्रतिष्ठित ब्यापारिक घराना एम. भि. दुगड ग्रुपको मुख्य लगानी रहेको नाशा हाईड्रोपावर प्रा.लि.ले प्रबर्धन गर्न लागेको उक्त जलबिद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चेखोलामा निर्माण हुनेछ ।

कुल २६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको बिभिन्न ९ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोडभन्दा बढी लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता ऋणिका तर्फबाट नाशा हाईड्रो पावर प्रा.लि.का अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुकातर्फबाट सोमबार बसेको सहभागी बैंक तथा वित्तीय संस्थाहरुसंगको सहवित्तीयकरण बैठकमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एक आपसमा आदानप्रदान गरेका थिए । उक्तअवसरमा सहभागी सम्पूण र्बैक तथा वित्तीय संस्थाका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त आयोजनामा नेपाल बैंकद्वारा पाँच अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकद्वारा तीन अर्ब ५० करोड, कर्मचारी संचयकोषद्वारा दुई अर्ब, राष्ट्रिय बाणिज्य बैंकद्वारा दुई अर्ब, हिमालयन बैंकद्वारा दुई अर्ब, लक्ष्मी बैंकद्वारा एक अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकद्वारा एक अर्ब, बैंक अफ काठमाण्डौद्वारा एक अर्ब तथा कृषि बिकास बैंकद्वारा एक अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाखको बित्तिय प्रबन्ध गरिएको हो ।

नेपाल बैंकको संस्थागत कर्जा बिभागका प्रमुख प्रदिप पाठकले संचालन गरेको उक्त कार्यक्रममा कर्मचारी संचय कोषका प्रशासक तथा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले स्वागत मन्तब्य ब्यक्त गर्दै यो निजि क्षेत्रद्वारा राष्ट्र निर्माणका लागी गरिएको ठूलो आयोजना भएको र यस आयोजनाको सफलता संगै अझ ठूला आयोजनामा लगानी गर्ने हिम्मत नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई हुने बिचार ब्यक्त गरे ।

नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीले नेपाली बैंकहरु त्यसमापनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र बिष्लेषण गरी उचित निष्कर्षमा पुगेको तथा बैंकहरुमा तरलता सहजभएको बर्तमान अबस्थामा यस आयोजनमा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सही उपयोग हुने बिचार ब्यक्त गरे । उनले मोतिलाल दुगड आफै बैंकका अध्यक्ष रहेको हुँदा बैंक कर्जाको सही सदुपयोग हुने तथा उक्त घराना नेपालको प्रतिष्ठित औद्यिोगिक तथा ब्यापारिक घराना रहेको र यसअघि लिखु खोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको हुँदा उनीहरुको कार्यको जाँच भैसकेको, यो आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्ण हुने बिश्वास प्रकट गरे ।

सम्झौता कार्यक्रममा डेभलपर नाशा हाईड्रोपावर प्रा.लि.का अध्यक्ष मोतिलाल दुगडले नेपाल कै हालसम्मकै ठूलो बित्तीय लगानी रहेको यो आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले तिब्रताका साथ गरेको कार्यको सह्राना गर्दे सरकारी बैंकको अग्रसरता र छोटो समयमा छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको बिचार ब्यक्त गरे । सानै उनले २०७९ श्रावणसम्ममा उक्त आयोजनाबाट ब्यापारिक उत्पादन सुरु गरिने जानकारी गराए ।

प्रतिक्रिया