अफगानिस्तानमा विस्फोट, ४ चिकित्सकको मृत्यु

अफगानिस्तानको राजधानी काबुुलमा मंगलबार गराइएको कार बम विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु भएको छ । अधिकारीहरुले घटनामा ज्यान गुमाउनेमध्ये ४ जना चिकित्सक भएको बताएका छन् । विस्फोटमा दुई जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता फरदावस फरामान्जकाअनुसार काबुुल पुलिसका डाक्टरहरुको टोली काबुुलको पूर्वमा रहेको पुुल–ए चारखी कारागार जाने क्रममा बम विस्फोट भएको हो । उक्त कारागारमा सयौं तालिवान लडाकुहरुलाई राखिएको छ । चिकित्सकहरु चढेको कारमा बम जडान गरिएको प्रहरीको दाबी छ ।
यद्यपि, विद्रोहीहरुले चिकित्सकलाई लक्षित गरी बम विस्फोट गराइएकाबारे यकिन भइसकेको छैन । घटनाको हालसम्म कुनै समूहले पनि जिम्मेवारी लिइसकेको छैन । विस्फोटका कारण घटनास्थल नजिकैका भवन तथा पसलहरुमा सामान्य क्षति पुुगेको जनाइएको छ ।
त्यसैगरी सोमबार बन्दुकधारीहरुले पूर्वी सहर गजनीमा अफगानी पत्रकार रहमतुुल्लाह निक्जादको हत्या गरेका छन् । पछिल्ला दुुई महिनामा अफगानिस्तानमा ज्यान गुमाउने उनी तेस्रो पत्रकार हुन् ।
अफगानिस्तानका विभिन्न स्थानमा पछिल्लो समय गराइएका हिंसात्मक घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको दाबी गरिएको छ । तर अफगान अधिकारीहरूले कतिपय घटना तालिवानले गराएको दाबी गरेका छन् । तर विद्रोही समूहले यसअघि भएका आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
कतारको दोहामा अफगान सरकार र तालिवान विद्रोही समूहबीच शान्तिवार्ता भइरहे पनि हिंसात्मक घटना रोकिएका छैनन् । तालिवान र अफगान सरकारबीच गत सेप्टेम्बरमा नै औपचारिक वार्ता सुरु भएको हो । तर शान्तिवार्ताको ढाँचाबारे दुई पक्ष अझैसम्म पनि सहमतिमा पुग्न सकेका छैनन् ।
दुई पक्षबीच भएको शान्ति सम्झौतापछि केही मत्थर बनेको द्वन्द्व सरकार र विद्रोहीले आफ्नो प्रभाव देखाउन गरेका आक्रमण र प्रत्याक्रमका कारण थप सक्रिय देखिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तान र इराकमा रहेका अमेरिकी सेनाको संख्या २ हजार ५ सयमा सीमित पार्ने योजना रहेको जनाएको थियो ।
इराक तथा अफगानिस्तानमा अमेरिकाले गरेको सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको राष्ट्रपति ट्रम्पको दाबी छ ।
प्रतिक्रिया