मंगलबार, वैशाख ९, २०८२

कर्णालीमाथि एपिएफको सहज जित

नेपालखोज २०७७ पुष ११ गते १७:२९

लमही । दाङमा आज बाट सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा साविक विजेता विभागीय टोली एफिएफले विजयी सुरुवात गरेको छ । उसले आजको दोस्रो खेलमा कर्णाली प्रदेशमाथि २०४ रनको फराकिलो जित हात पारेको हो ।

एपिएफले दिएको २३६ रनको लक्ष्य पछ्याएको कर्णालीले १४.१ ओभरमा सबै विकेट गुमाउँदै ३१ रन मात्र बनाउन सक्यो । कर्णालीका कुनै पनि खेलाडी एपिएफको घातक बलिङ सामु टिक्न सकेनन् ।

कर्णालीका लागि कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका ५ जना बिना कुनै रन पेभिलियन फर्किँदा कप्तान लक्ष्मी रिमालले बनाएको ६ रन नै सर्वाधिक व्यक्तिगत रनको योगदान बन्न पुग्यो ।

कर्णालीका पारी ध्वस्त बनाउने क्रममा करुणा भण्डारीले ५, राजमति ऐरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निधारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रनको योगफल तयार पारेको थियो । उसका कप्तान सीता रानामगरले उत्कृष्ट प्रदर्शन गरिन् ।

१७।४ ओभरमा अञ्जु गुरुङको बलमा बोल्ड आउट हुनुअघि सीताले ५९ बलको सामना गर्दै ८ चौकाको मदतमा ६८ रन बनाइन् । सरिता मगरले अविजित ४४ तथा ज्योति पाण्डेले ३२ रनको योगदान दिए ।

कर्णालीका लागि दीक्षा पुरीले २ तथा निशा पराजुली र अञ्जु गुरुङले समान १–१ विकेट हात पारे ।

आइतबार एपिएफले प्रदेश–२ सँग तथा कर्णालीले लुम्बिनी प्रदेशसँग आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया