फुटबल टिमको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौं । विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेको १४ खेलाडी बाहिरिएका छन् ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक चरणमा बोलाएका ५८ खेलाडीबाट १४ खेलाडीलाई बाहिर राख्दै ४४ खेलाडी छनोट गरेका छन् ।
एक महिनाको क्लोज क्याम्पपछि टिममा खेलाडीको संख्या घटाइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
क्याम्पबाट बाहिरिने खेलाडीहरुमा गोलकिपर देव लिम्बु, अमित तामाङ, रनदिप पौडेल, जय गुरुङ, नितिन थापा, रजत तिवारी, दिपेश आले मगर, राजेश परियार, प्रेजन तामाङ, विमल घर्ती मगर, रेजिन सुब्बा, राजिव लोप्चन र विमल राना छन् ।
विमल राना र विमल घर्ती मगर राष्ट्रिय टिममा खेलिसकेका खेलाडी हुन् । ट्रेनिङका क्रममा घुँडामा चोट लागेपछि विमल घर्ती मगर यसअघि नै बाहिरिसकेका थिए । उनीसहित विक्रम लामाको उपचार एन्फाले कतारमा गर्ने निर्णय समेत गरिसकेको छ ।
यसैगरी घाइते भएका सुमन अर्याल पनि टिम बाहिर रहेको र फिट भएमा मात्र ट्रेनिङमा फेरि जोइन हुने एन्फाले जनाएको छ । तर एन्फाले सुमनको चोट कस्तो भनेर खुलाएको छैन ।
सन् २०२२ मा कतारमा हुने विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले समूह ‘बी’ को बाँकी तीन खेल २०२१ मा खेल्दैछ । घरेलु मैदानमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलियासँग मार्चमा खेल्नेछ भने जोर्डनसँग जुनमा खेल्नेछ ।
प्रतिक्रिया