सन्दीपले लिए एक विकेट, होबर्टलाई १८४ रनको लक्ष्य

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बिग बास लिगमा आज होबर्ट हुरिकेन्सका लागि एक विकेट लिएका छन् ।
मेलबर्न स्टार्सविरुद्ध आज सन्दीपले चार ओभरमा ३६ रन दिएर एक विकेट लिएका हुन् । सन्दीपबाहेक आज होबर्टका नाथन एलिसले तीन विकेट लिए भने रिले मेरेडिथले दुई विकेट लिए ।
होबर्टस्थित बेलेराइभ ओभलमा सन्दीपको टीम होबर्टले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।
मार्कुस स्टोइनिसले अविजित ९७ रन बनाएपछि मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको छ ।
स्टोइनिसले ५५ बलमा सात चौका र सात छक्कासहित अविजित ९७ रन बनाए । स्टोइनिसबाहेक हिल्टन कार्टवेटले ३६, निकोलस पुरनले २६ र आन्द्रे फ्लेचरले दश रन बनाए ।
सन्दीपले शनिबार मेलबर्नविरुद्धकै खेलमा चार ओभरमा ३८ रन दिएर दुई विकेट लिएका थिए । उक्त खेलमा होबर्ट हुरिकेन्स २१ रनले विजयी भएको थियो ।
होबर्ट अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । मेलबर्न भने पाँचौं स्थानमा छ ।
प्रतिक्रिया