बुधबार, वैशाख १०, २०८२

काठमाडौंमा वायु प्रदूषणले खतराको घन्टी पार, आवश्यक परे मात्र घरबाहिर निस्कन चिकित्सकको सुझाव

नेपालखोज २०७७ पुष २१ गते १७:२७

काठमाडौं । सोमबारदेखि देशभरको मौसममा बदली भएसँगै काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । सोमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश अझैसम्म खुल्न सकेको छैन ।

संसारकै प्रमुख सहरहरूको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आइक्युएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको थियो । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।

विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।

आज देशभरको मौसममा बदली भएर हल्का वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि काठमाडौंको आकाशलाई तुवाँलोले ढाकेको छ । बिहीबारबाट मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

यसैबीच, वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै बालबालिका,वृद्धवृद्धा,दीर्घ रोगी,मुटुका समस्या भएका व्यक्तिहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घर बाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया