बिहीबार, वैशाख ११, २०८२

माघ १ देखि प्रतिमहिना २ भन्दा बढी अन्तर बैंक एटीएम कारोबारमा शुल्क लाग्‍ने

नेपालखोज २०७७ पुष २३ गते १८:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटीएममा कारोबारमा शुल्क लिन सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थाहरुको लागि एक परिपत्र जारी गर्दै अन्तर बैंक एटीएममा माघ १ देखि प्रतिमहिना दुईवटा कारोबार मात्रै निःशुल्क हुने व्यवस्था गरेको छ । दुईवटा भन्दा बढी कारोबारमा प्रतिकारोबार अधिकतम २० रुपैयाँसम्म शुल्क लिन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

“एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशमै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबार निःशुल्क हुने र दुईवटा भन्दा बढी कारोबारमा प्रतिकारोबार अधिकतम २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,” राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रमा भनिएको छ ।

त्यस्तै केन्द्रीय बैंकले विद्युतीय भुक्तानीमा बैंकहरुको मोनोपोलीमा कडाइ गर्दै पूर्वजानकारी गराएर मात्रै मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङको शुल्क लिन पाउने व्यवस्था गरेको छ । विद्युतीय कोरोबारको युजर आईडी र पासवर्डसमेत ग्राहक आफैंले रिसेट गर्न सक्ने व्यवस्था गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । “विद्युतीय कारोबारमा सुरक्षाको पर्याप्त प्रबन्ध मिलाएर मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङको युजरनेम र पासवर्ड हराएमा अथवा बिर्सिएमा ग्राहक आफैंले पुनस् प्राप्त गर्ने गरी आफैंले पुनः सेवा सुरु गर्ने व्यवस्था गर्नुपर्नेछ,” राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया