बुधबार, वैशाख १०, २०८२

सन्दीप लामिछानेले विकेट लिएपनि हुरिकेन्सको लगातार हार

नेपालखोज २०७७ पुष २४ गते १०:३२

अस्ट्रेलियामा जारी बिग बास लिग(बीबीएल) क्रिकेटमा सन्दीप लामिछानेले लगातार खेलमा विकेट लिएपनि उनको टोली होबर्ट हुरिकेन्सले लगातार हार ब्यहोरेको छ। हुरिकेन्सले बिहीबार सम्पन्न खेलमा सिड्नी थण्डरसँग ३९ रनको हार ब्यहोर्‍यो ।

पहिला ब्याटिङ गरेको थण्डरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६७ रन जोडेको थियो । सन्दीपले चार ओभरमा एक विकेट लिएर २३ रन मात्र खर्चिए। उनले विपक्षी टोलीका कप्तान क्यालम फर्गुसनलाई व्यक्तिगत एक रनमा आउट गरेका थिए ।

हुरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रन जोड्यो । १४ ओभर २ बलमा चार विकेट गुमाएर एक सय ६ रन जोडेको हुरिकेन्स त्यसपछि लगातार विकेट गुमाएर दबाबमा आएको थियो। उसले थप रनमा बाँकी विकेट गुमाएको हो ।

टोलीले ९८ रन जोड्दा चौथो विकेटका रुपमा कप्तान पिटर ह्याण्ड्सकम्बलाई आउट गरेसँगै हुरिकेन्स लगातार दबाबमा आएको थियो । उनलाई तनविर सान्घाले आउट गरे । त्यसपछि सान्घाले भरपर्दा ब्याट्सम्यान कोलिन इन्ग्रामलाई पनि आउट गरेका थिए ।

यो सिजन सन्दीपले हुरिकेन्सका लागि पहिलो खेल जितेपनि त्यसपछिका लगातार दुई खेल हारेका छन् । पहिलो खेलमा दुई विकेट लिएका उनले अघिल्लो खेलमा पनि एक विकेट हात पारेका थिए ।

हुरिकेन्सको ९ खेलबाट १८ अंक छ । शीर्षस्थानमा रहेको सिड्नी थण्डरको ८ खेलबाट २२ अंक रहेको छ । सिड्नी सिक्सर्सको ८ खेलबाट २१ अंक रहेको छ ।

प्रतिक्रिया