बिहीबार, वैशाख ११, २०८२

भोलि १० अर्बको बिकास ऋणपत्र जारी गर्दे राष्ट्र बैंक

नेपालखोज २०७७ माघ १२ गते ११:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १३ गते अर्थात भोलि मंगलबार १० अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त दिन अपरान्ह दुई बजेसम्ममा उक्त परिमाणमा बिकास ऋणपत्र जारी गर्न लागिएको हो । बोलकवोल मिती २०७७ माघ १३ गते, जारी मिती २०७७ माघ १४ गते तोकिएको सात बर्षे अवधिको बिकास ऋणपत्र २०८४ “ङ” को सावाँ भुक्तानी मिती भने २०८४ माघ १४ गते तोकिएको छ ।

यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने यो ऋणपत्रको परिपक्व हुने अवधि वि.सं. २०८४ साल माघ १४ तोकिएको छ । राष्ट्र बैंकका अनुसार खरिदकर्ताहरुलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा छुट्याइएको यो ऋणपत्र प्रतिस्पर्धी समूहलाई कुल निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र भने अप्रतिस्पर्धी समूहलाई बिक्री गरिनेछ ।

खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर ऋणपत्र खरिद गर्न सक्नेछन् । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । तर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीरुपमा भाग लिन पाउनेछैनन् । राष्ट्र बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने छ ।

प्रतिक्रिया