बुधबार, वैशाख १०, २०८२

‘नर्सलाई बिरामीलेसमेत डाक्टरसरह सम्मान नदिएजस्तो लाग्छ’

लक्ष्मी चौलागाईं २०७७ माघ १५ गते १४:१७

नेपाललगायत विश्वभर आज विश्व नर्सिङ दिवस मनाइदैंछ । हरेक अंग्रेजी वर्षको मे १२ अर्थात् विश्व नर्सिङ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाइदैं आइएको छ । पढौं नर्सिङ पेसा र यसबारेमा केही नर्सका कार्य अनुभव :

नर्सिङ पढ्न चाहने छोराछोरीलाई प्रेरणा दिनुपर्छ

कोपिला श्रेष्ठ (पलाखें), नर्स त्रिवि शिक्षण अस्पताल

म ताप्लेजुङको दुर्गम क्षेत्रमा जन्मिएकी, सानो छँदा काठमाडौंबाट नर्सहरू गाउँ आएर विभिन्न स्वास्थ्य शिविरमा असहाय तथा बिरामीको सेवा गरेको देख्दा मलाई पनि भविष्यमा उनीहरूले जस्तै दुर्गम क्षेत्रमा सेवा गर्ने इच्छा जाग्यो । त्यसैबाट मलाई नर्स पढ्न प्रेरणा मिल्यो ।

०३४ मा एसएलसीपछिको पढाइका लागि म काठमाडौं आएँ । भाइ, दिदी, बुबा, ममी र मसहित हाम्रो पाँचजनाको परिवार हो । मैले नर्सिङ पढ्ने निधो गरेपछि घरमा सुनाएँ । घरको समर्थन मिलेपछि काठमाडौं आएर नर्सिङ पढ्न थालेँ । काठमाडौंमै पढ्नु राम्रो र सुरक्षित हुन्छ भन्ने घरमा सल्लाह भयो ।

अहिलेको महाराजगन्ज नर्सिङ क्याम्पस त्यतिवेला महाबौद्धमा थियो । म त्यहीँबाट नर्सिङ पढ्न थालेँ । ०३४ मा सुरु गरेको अध्ययन ०३८ मा पूरा भयो । अध्ययन सकिएलगत्तै मैले झापाको भद्रपुर अस्पतालमा काम सुरु गरेँ । भद्रपुर अस्पतालमा १ वर्षको कार्य अनुभवपश्चात् मैले काठमाडौंको टेकु अस्पताल र वीर अस्पतालमा ६–६ महिना काम गरेँ । त्यसपछि त्रिभुवन शिक्षण अस्पतालको स्थापनाकाल देखि नै म यहीँ कार्यरत छु ।

नर्सिङ पेसा बाहिर देखिएजस्तो सजिलो छैन । पहिले–पहिले त अझै नेपाली समाजमा ‘छोरी बिग्रिए नर्स’ भन्ने चलन पनि थियो । २४ घन्टै बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने नर्सलाई बिरामीले समेत डाक्टरसरह सम्मान नदिएजस्तो लाग्छ मलाई । त्यतिवेला आफैँमा अपहेलित भएको महसुस हुन्छ । वर्तमान समयमा भने समाज र परिवारको पनि नर्सप्रति हेर्ने दृष्टिकोण फराकिलो हुँदै गएको छ । संसारभर नर्सिङको दायरा बढ्दै गएको छ । विदेशमा नर्सलाई जति सम्मान दिइन्छ, नेपालमा भने अझै पनि त्यस रूपमा लिन सकिएको छैन ।

नर्सिङ पढ्ने छोराछोरीका लागि सधैँ उत्प्रेरणाको स्रोत बन्न म अभिभावकहरूलाई आग्रह गर्छु । अभिभावकको साथ र समर्थनविना सन्तानले सफलता पाउन सक्दैनन् । यो पेसा अँगाल्ने तथा अँगाल्न चाहनेहरूलाई व्यक्तिगत आकांक्षाभन्दा सेवाभावले र्निर्सङ पेसामा लाग्न मेरो आग्रह छ ।


पारिवारिक समर्थन भएमा नर्सिङ पेसा सोचेभन्दा धेरै रमाइलो छ

कल्पना पियाँ, नर्स त्रिवि अस्पताल

म लमजुङको गाउँमा जन्मेकी, तर पढाइका लागि बन्दीपुर बस्थेँ । मेलै एसएलसीसम्मको पढाइ गाउँकै स्कुलबाट पूरा गरेँ । त्यसवेला नर्सिङ पेसामा आवद्ध दिदीहरूको कामप्रतिको समर्पण र सक्रियताले मलाई नर्सिङ पढ्न प्रेरणा प्रदान गर्‍याे ।

मेरो परिवारमा ३ दिदीबहिनी र २ दाजुभाइ छौं । म सानै छँदा आमाले भन्नुहुन्थ्यो ‘तिमी मोटी–मोटी खालकी छ्यौ, डाक्टर बन्न सुहाउँदो खालको जिउडाल छ तिम्रो’ । त्यसैबेलादेखि डाक्टर को हो ? स्वास्थ्यकर्मीले कसरी बिरामीको सेवा गर्छन् भन्ने थाहा नपाए पनि दिमागमा भने म स्वास्थ्य क्षेत्रमा नै लाग्नुपर्छ, त्यसैमा करियर बनाउनुपर्छ भन्ने लाग्यो ।

त्यतिवेला छोरीलाई शिक्षाको खासै आवश्यकता छैन भन्ने मानसिकता आम अभिभावकको थियो । अभिभावकको समर्थनविनै म काठमाडौं पढ्न आएँ । मैले मामाको सहयोगमा नर्सिङ अध्ययनका लागि आवेदन दिएँ । त्यसमा नाम निस्किँदा ज्यादै खुसी लाग्यो । काठमाडौंमै मामाघरमा बसेर मैले नर्सिङ पढ्न सुरु गरेँ । मेरा लागि मामा सधैँ प्रेरणाको स्रोत हुनुहुन्छ । पढाइको सुरुवातदेखि जागिर खाने वेलासम्म निरन्तर उहाँले मलाई सहयोग गर्नुभयो । म गाउँकी केटी भएकाले बाहिरी वातावरणमा त्यति सारो घुलमिल हुन सक्दिनथेँ । मामाले नै मलाई धेरै विषयको जानकारी लिँदै अगाडि बढ्न निरन्तर हौसला दिनुभयो ।

पढ्न सुरु गर्नुअघि नर्सिङ नपढे हुन्थ्यो भन्ने आमाबुवाको चाहना भए पनि पढ्न सुरु गरेपश्चात् भने उहाँहरूले मेरो पढाइमा सहयोग नै गर्नुभयो । मेरा सहपाठी साथीहरू प्रायः पूर्वतिरका थिए । म उनीहरूको तुलनामा अतिरिक्त क्रियाकलापमा त्यति अगाडि थिइन । विस्तारै उनीहरूले मलाई प्रत्येक क्रियाकलापमा अगाडि बढ्न प्रेरित गरे । म अलिअलि अन्तर्मुखी स्वभावको भएकाले साथीहरूसँग घुलमिल हुन धेरै समय लाग्यो । पछि म बोलेको देखेर साथीहरूले ‘तिम्रो पनि मुख रहेछ त’ भनेर हाँसिमजाक समेत गर्ने गर्थे ।

०३६ मा सुरु भएको मेरो नर्सिङ ०४० मा सकियो । त्यतिवेला पञ्चायतविरुद्धको आन्दोलन व्यापक रूपमा चलेको हुनाले पढाइ केही लम्बियो । पढाइ सकिएको भोलिपल्टै म रोजगारीको खोजीमा वीर अस्पताल गएँ । त्यतिवेला मेरो भेट प्राध्यापक अञ्जनकुमारसँग भयो । उहाँले नै वीर अस्पतालमा काम लगाइदिनुभयो । त्यतिवेला नर्सिङ पढ्नेको संख्या एकदमै कम हुने भएकाले पनि मैले सजिलै काम पाइहालेँ । उहाँसँगको भेटको भोलिपल्टदेखि नै मैले वीर अस्पतालमा नर्सको रूपमा काम गर्न सुरु गरेँ । त्यतिवेला मेरो मासिक तलब ४०० रूपैयाँ थियो । मेरो बसाइ महाबौद्धमा थियो । त्यहाँबाट वीर अस्पताल नजिकै भएकाले मलाई काम गर्न सजिलो भयो ।

त्यतिवेला वीर अस्पतालमा आइसियुमा काम गर्ने नर्सको आवश्यकता रहेछ । मलाई आइसियुबारे आधारभूत जानकारीसमेत थिएन । काम गर्दै जाने क्रममा मैले आइसियुबारे जानकारी लिएँ । वीर अस्पतालमै कार्यरत हुँदा त्रिवि अस्पतालमा केही नर्सका लागि आवेदन खुल्यो । मलाई मामाले त्रिविमा आवेदन गर्न भन्नुभयो । मैले अन्तिम दिन आवेदन दिएँ । फर्म भरेको केही समयमै नतिजा प्रकाशन भयो, जसमा म सफल भएँ । अस्पतालको स्थापना ०४० मा भए पनि यहाँ अन्तरंग र प्रसूति सेवाको विस्तार भने ०४२ मा मात्रै भएकाले मलाई त्रिविबाट वीर अस्पतालमै काजमा पठाइयो । मलाई वीर अस्पतालमा आइसियुका लागि पठाइएको थियो ।

नर्सिङ पेसामा आवद्ध भएपश्चात् विभिन्न वर्ग तथा क्षेत्रका मानिसहरूसँग घुलमिल भएपछि अन्तर्मुखी स्वभावकी म धेरै बोल्ने बनेँ । कतिपय मान्छेलाई पेसाले पनि परिवर्तन गराउँदो रहेछ भन्ने मेरो व्यक्तिगत अनुभव छ । मलाई नर्सिङ पेसा एकदमै रमाइलो र मर्यादित लाग्छ । पारिवारिक समर्थन भएको खण्डमा यो पेसा सोचेभन्दा धेरै रमाइलो छ ।

विवाहपश्चात् पनि मेरो परिवारले मलाई सँधै समर्थन दिइ नै रहनुभएको छ । विवाहअघि मेरा मामाले तथा विवाहपश्चात् मेरो सम्पूर्ण परिवारले मलाई पेसागत करिअर विकासमा साथ र सहयोग प्रदान गरि नै रहनुभयो । विशेषगरी सासूआमा मेरो नर्सिङ करिअरप्रति सँधै सकारात्मक देखिनुभयो । पेसामा आवद्ध भएको यति लामो समयमा पेसाका कारण मैले कुनै पारिवारिक कठिनाइको सामना गर्नुपरेको छैन । यही सकारात्मक प्रभावका कारण मेरी छोरी पनि हाल नर्स नै छिन् । हाल उनी अस्ट्रेलियामा नर्सकै रूपमा कार्यरत छिन् ।

प्रतिक्रिया