बिहीबार, वैशाख ११, २०८२

हङकङवासीको बेलायती पासपोर्ट अनाधिकारिकः चीन

नेपालखोज २०७७ माघ १६ गते १५:४०


एजेन्सी । चीनले हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने घोषणा गरेको छ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता झाऊ लिजियनले ब्रिटिश नेसनल ओभरसिज बीएनओ पासपोर्टलाई हङकङमा ट्राभल डकुमेन्ट वा परिचयपत्रको रुपमा मान्यता नदिइने बताएका हुन्।

उनले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी गराएका हुन्। उनका अनुसार आइतबारदेखि नै सो नियम लागु हुनेछ।

चीनले गत वर्ष हङकङमा राष्ट्रिय सुरक्षा नीति लागु गरेपछि त्यसको विरोधमा ठूलो आन्दोलन भएको थियो।

चीनको कडा सुरक्षा नीतिबाट पीडित हङकङवासीलाई बेलायतले आफ्नो मुलुकमा दीर्घकालीनरुपमा बस्ने व्यवस्था गर्ने बताएका बेला चीनले यो कदम चालेको हो।

बेइजिङसमर्थित हङकङ प्रशासनबाट आन्दोलनमा दमन भएको भनी धेरैले हङकङ छाड्न चाहेको भन्दै त्यस्ता पीडितलाई बेलायतले आफ्नो मुलुकमा राख्ने घोषणा गरेको थियो।

तर त्यसको जवाफमा चीनले भने त्यसरी बेलायत बस्नेहरुले पाउने ब्रिटिश नेसनल ओभरसिज बीएनओ पासपोर्टलाई हङकङमा मान्यता नदिने बताएको छ ।

प्रतिक्रिया