बुधबार, वैशाख १०, २०८२

क्रिकेट रंगशाला निर्माण सहयोगार्थ ‘स्टार क्रिकेट २०२१’ हुने

नेपालखोज २०७७ माघ १८ गते १३:५७

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ ‘स्टार क्रिकेट २०२१’ हुने भएको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ प्रतियोगिता आयोजना हुने भएको हो ।

शनिबार काठमाडौँमा एक पत्रकार सम्मेलनमार्फत आयोजकले स्टार क्रिकेट २०२१ को बारेमा जानकारी दिएको छ । आयोजित पत्रकार सम्मेलनमा कलाकार र खेलाडीहरूले क्रिकेटसमेत खेलेका थिए।

नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने टुर्नामेन्टमा दुई समूह बाँडिएको छ । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा हुनेछ ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का लगायतका क्रिकेटर खेल्ने भएका छन् । त्यस्तै नेपाली सिनेमा क्षेत्रमा चर्चित कलाकार दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, रवि ओड क्रिकेट खेल्ने छन् ।

प्रतियोगिता माघ २४ गते चितवनको निर्माणाधीन रङ्गशालामा हुनेछ । प्रतियोगिताबाट उठेको सम्पूर्ण रकम रङ्गशालाको निर्माणमा प्रदान गरिने आयोजकले जनाएको छ । नमुना मैदानमा यसअघि बागमती प्रदेशको आयोजनामा गत मंसिरमा गौतमबुद्ध कप भएको थियो ।

प्रतिक्रिया