काेराेनाकाे खोप अब पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणबाट बचेको खोप पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीहरुलाई लगाइने भएकाे छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पहिलो चरणबाट बचेको खोप पत्रकार, कूटनीतिक नियोगमा काम गर्ने अधिकारी र संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीलाई खोप लगाउने निर्णय गरिएको बताए । गौतमका अनुसार उक्त खोप अभियान भोली (सोमबार)बाट सुरु हुनेछ ।
भारतले दिएको १० लाख डोज खोप ४ लाख ३० हजार अग्रपंक्तिमा खटिने कर्मचारीलाई लगाउने योजना बनाएको थियो । तर, योजना बनाए अनुसार स्वास्थ्यकर्मीले खोप नलगाएपछि पहिलो चरणको खोप बचेको हो।
काठमाडौं उपत्यकामा खोप लगाउनको लागि गंगालाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन र सिभिल अस्पताल तोकिएको छ । पत्रकार, कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी, संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीलाई खोप पर्सीबाट लगाउने योजना छ । डा.गौतमले भने दोस्रो चरणको प्राथमिकतामा परेका समूहलाई फागुन १ गतेबाट खोप लगाइने छ । दोस्रो चरणमा कुन–कुन समूहलाई खोप लगाउने बारे मन्त्रालयमा छलफल जारी छ।
२० लाख डोज कोभिसिल्ड खरिद गर्दै सरकार
भारतको सेरम इन्स्टिट्यूटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप नेपालले खरिद प्रक्रिया अघि बढेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा .भिमसिंह तिँकरीले ‘कोभिसिल्ड’ खोपका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । उक्त खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रोजेनिकाले विकास गरेको हो ।
‘स्वास्थ्यमन्त्री ज्यूले भारत सरकारसँग गर्नुभएको अनुरोधपछि सेरम इन्स्टिट्युटले उत्पादन गरेको खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ,’ डा. तिँकरीले भने, हेरौं, अबको एक–दुई भित्रमा कहिले आउँछ भन्ने टुंगो लाग्छ। नेपालले खोप खरिदको लागि भारतसँग २० लाख डोज प्रस्ताव गरेको छ।
हालको लागि हामीले २० लाख डोजको प्रस्ताव गरेका छौ तर सबैतिरबाट माग धेरै भएकाले कम्पनीले हामीलाई कति मात्रामा दिन्छ भन्ने एकीन गर्न सकिदैन । डा.तिँकरीले भने,‘कुन समयमा कति खोप दिन सक्ने भन्ने जानकारी पर्सीसम्म आउँछ ।अहिलेसम्म हामीकहाँ अनुमति यही खोपले मात्र पाएको छ। सबैभन्दा सस्तो पनि यही छ। त्यसकारण पनि यो खोप हामीलाई उपयुक्त हुनेछ भनेर ल्याउन लागेका हौं ।’ डा. तिँकरीले भने।फागुनको पहिलो सातासम्म नेपालमा खोप आउने आशा गरिएको छ।
कति मूल्यमा सरकारलाई उपलब्ध गराउँछ?
हालसम्म कति मूल्यमा खरिद गर्ने भन्ने एकिन नभएको र मुल्यको विषयमा कुरा भइरहेको डा.तिँकरीले बताएका छन्। अन्य मुलुकले किनेको भन्दा कम मूल्यमा दिने खरिद गर्ने कुराकानी भइरहेको छ। गत माघ १४ गतेबाट नेपालमा भारत सरकारले उपहार मार्फत दिएको सेरम् इन्सिच्यूटको खोप अग्रपंक्तिमा खटिनेहरुलाई लगाइसकेको छ । पहिलो चरणको खोप अभियान शनिबार नैं सकिएको छ । शुक्रबार सम्ममा देशभरका देशभरका एक लाख ७१ हजार ४८६ जनाले खोप लगाएका छन्। तर, शनिबार सम्मको तथ्यांक आउँदै गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चीनबाट पनि खोप
चीन सरकारले नेपाललाई पाँच लाख डोज कोभिड खोप दिने भएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्तापछि खोप दिने कुरा भएको हो । चीनले खोप दिने भनेपनि त्यो खोप कहिलेसम्म नेपाल आउँछ भन्ने बारे स्वास्थ्य मन्त्रालयका अधिकारी अनभिज्ञ छन् ।
त्यसैगरी,विश्व स्वास्थ्य संगठनले कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा नेपाललाई २२ लाख ५६ हजार डोज खोप पाउने निश्चित भएको जनाएको छ ।कोभ्याक्सले पनि नेपाललाई सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप नै दिने भनेको छ । स्वास्थ्य मन्त्रालयले फागुन अन्तिम साता भित्र कोभ्याक्स मार्फत खोप आउने जनाएको छ ।
प्रतिक्रिया