गृहमन्त्री बादलको त्यो अभिव्यक्तिले निम्त्याएको यो हत्याकाण्ड

काठमाडौं । २०७६ साउन ७ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्त बलात्कार र हत्याका आरोपी जोगाउन लागेको आरोप सरकारमाथि लगाउनु गलत भएको बताएका थिए ।
उक्त समयमा गृहमन्त्री बादलले निर्मला प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको आरोप पनि लगाएका थिए । निर्मला प्रकरणजस्तो अपराध यसअघि पनि घटेको र भविष्यमा समेत त्यस्ता घटना हुने उनको भनाइ थियो ।
‘निर्मला हत्याकाण्ड आपराधिक कार्य हो । यस्तो घटना पहिला पनि भएको हो, आगामी दिनमा पनि हुन्छ,’ उनले भनेका थिए । थापाले त्यस्ता घटना समाजमा भइरहने र पूर्ण रुपमा रोक्न नसकिने जिकिर गरेका थिए ।
‘यस्ता घटना हिजो पनि भए, आज पनि छ र भोलि पनि हुन्छ’, उनले भने, ‘यस किसिमका घटना पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं ।’
त्यस्तै करिब दुई वर्ष अघि संसदमा बोल्दै गृहमन्त्री बादलले बलात्कारका घटना रोक्न वर्तमान सरकारसँग स्पष्ट नीति रहेको र त्यसलाई रोक्ने प्रतिवद्धता व्यक्त गरेका थिए । दुई वर्षअघि वैदेशिक रोजगारीका क्रममा नेपाली महिलाविरुद्ध हुने गरेको यौन हिंसा र निर्मला पन्त हत्या प्रकरणबारे बोल्दै उनले भनेका थिए– ‘अहिलेको सरकारले यसलाई रोक्ने प्रयास गरेको छ । यो सरकारसँग त्यस्तो किसिमको भिजन छ, नीति छ र नेतृत्व पनि छ । र, हामी यसलाई रोक्छौं ।’
नेपाल प्रहरीको तथ्याङ्कः आर्थिक वर्ष २०६७/०६८ मा ४८१ बलात्कार र १५१ बलात्कारको प्रयाससम्बन्धी घटना दर्ता आर्थिक वर्ष २०७६/०७७ मा २,१४४ बलात्कार र ६८७ बलात्कारको प्रयाससम्बन्धी घटना दर्ता लकडाउनको अवधिमा चार महिना (चैत ११ गतेदेखि साउन १० गतेसम्म) मा १६९ वटा बलात्कार र ५३ वटा बलात्कारको प्रयास सम्बन्धी उजुरी
तर, २०७७ असोज १४ गते बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बलात्कारका घटनाबारे दिएको उनको अभिव्यक्तिले धेरै चर्को आलोचना निम्त्याएको थियो ।
‘झण्डै सवा दुई सय देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन । न्यूनीकरण गर्ने सन्दर्भमा सरकारको तर्फबाट प्रयासहरु भएका छन्,’ उनले भनेका थिए–‘…सवा दुई सयमध्ये हाम्रो स्थान पछाडि आउँछ । पछाडिबाट हेर्दा हामी टप १५ भित्र छौं भन्ने कुरा विश्लेषणबाट देखिन्छ भने हामीभन्दा अगाडि विकसित मुलुकहरु अमेरिका, दक्षिण अफ्रिका देखिन्छन् ।’
यसअघि २०७१ सालको चैत दोस्रो साता तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बलात्कारको घटनाबारे दिएको अभिव्यक्तिले पनि निकै आलोचना निम्त्याएको थियो ।
त्यतिबेला संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको बैठकमा उनले भनेका थिए, ‘राजनीतिक संक्रमणकालमा यस्ता घटना भइरहन्छन् । यद्यपि यस्ता घटना नियन्त्रण गर्न सरकार प्रतिवद्ध छ ।’
२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । निर्मलाको बलात्कारपछि हत्या भएकोमा गृहमन्त्रालयले दोषी जोगाउन भूमिका खेलेको आरोप लागेपछि गृहमन्त्री बादलको ‘यस्ता घटना हिजो पनि भए, आज पनि छ र भोलि पनि हुन्छ । यस किसिमका घटना पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं’ भन्ने अभिव्यक्ति आएको थियो ।
यद्यपि निर्मला बलात्कारपछि हत्या भएको साढे दुई वर्षपछि बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ । गत बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार विभत्स अवस्थामा फेला परेको थियो ।
आफन्त र परिवारले उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेका छन् भने प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ ।
उक्त घटनाको अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेय र सीआईबीका डिएसपीको नेतृत्वमा छुट्टा–छुट्टै टोली परिचालन गरिएको छ ।
सीआईबीबाट निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुर पुगेका डीएसपी पञ्चकुमार बाखुको टोलीलाई नै भागरथीको मृत्युको छानबिनमा पनि खटाइएको छ ।
भट्टको मोबाइल प्रहरीले बरामद गरेको छ, त्यसको कल डिटेल लगायतका विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
यता राजनीतिक दल, उसका भ्रातृ संगठन र नागरिक समाजले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या भएको घटनाको गम्भीर ढंगले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर निर्मला पन्तको घटना जस्तै पीडकलाई कारबाही हुन नसक्ने अवस्था सिर्जना नहोस् भन्दै पीडितले न्याय पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन् ।
प्रतिक्रिया