कोरोनाबाट थलिएको पाटन अस्पताल पुरानै अवस्थामा फर्कंदै

काठमाडौं । करिब ३७ वर्ष लामो इतिहास बोकेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान झण्डै १ वर्ष लामो कोरोना महामारीपश्चात् पुरानै अवस्थामा फर्कनका लागि प्रयासरत छ । पाटन अस्पताल न्यून तथा उच्च वर्गको उपचारमा केन्द्रित रहदैं आएको छ ।
कोरोना भाइरसको उपचारका लागि सरकारले कोभिड अस्पतालका रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तोकेपश्चात् नन्–कोभिडका बिरामीहरु अस्पताल आउन कम भएको थियो । कोरोनाको सङ्कट आउनुपूर्व अस्पतालले भविष्यमा हुनसक्ने क्षति आंकलन गरी चैत ३ गते अगाडिनै ‘कोभिड–१९ प्रिपेयरनेस एण्ड ह्याण्डल’ बनाइ सकेको थियो । सरकारले कोभिडको उपचारमा पाटन अस्पतालको तयारी राम्रो देखेर सेवा गर्ने अवसर दिएसँगै अन्य रोगका बिरामी आउन कम भएको निर्देशक डा.रवि शाक्यले बताए । उनले भने, ‘अस्पतालमा कोरोनाका बिरामी बढेका बेला नन्–कोभिडका बिरामी उपचार गर्न आउने संख्यामा १० देखि ३० प्रतिशतले कमी भएको थियो । महामारी अघि अस्पतालमा दैनिक एक हजार आठ सय देखि दुई हजार दुई सयले ओपिडी सेवा लिन्थे भने हाल लगभग दैनिक एक हजारले सो सेवा लिन थालेका छन् । कोरोना अघि अस्पतालमा रहेको कूल ६ सय ५० शैया धेरैजसो भरिभराउ हुन्थे भने अहिले पनि त्यस्तै हुने क्रममा छ ।
मङ्सिर पहिलो साताबाट अस्पतालले पूर्ववत रुपमा सबै कर्मचारी बोलाएर सेवा सञ्चालन गर्न थालेसँगै ५० प्रतिशत सङ्ख्यामा अन्य रोगका बिरामी पनि पाटन अस्पतालमा उपचारका लागि आउन थालेको शाक्यले जानकारी गराए ।
असारसम्म नयाँ अक्सिजन प्लान्ट चलाउने
यही माघ ७ गते ललितपुर महानगरपालिकाले अक्सिजन प्लान्ट खरिद गर्न पाटन अस्पताललाई १ करोड रुपैयाँ सहयोग गरेसँगै आउँदो असारसम्ममा जडान गरी चलाउने योजना अघि बढेको छ ।
सार्वजनिक ऐन अनुरुप सो प्लान्ट खरिद गर्न केही समय लाग्ने र यसको गुणस्तर पनि निर्धारण गर्नुपर्ने भएकाले प्रविधि आइपुग्ने बितिकै जडान गरी मासिक अक्सिजन खरिद गर्न लाग्ने लगभग २० लाख रुपैयाँ बचाउन अस्पताल प्रशासन लागि परेको बताइएको छ ।
पहिले भएको प्लान्ट बिग्रिदा कोरोनाको समयमा मासिक २५ लाखसम्मको दैनिक ३ सय ५० थान ठूला अक्सिजन सिलिण्डर खरिद गरी बिरामीको उपचारमा प्रयोग गरिएको डा. शाक्यको भनाइ छ ।
मानसिक रोगका बिरामी बढे
पाटन अस्पतालमा मानसिक रोगका बिरामी बढेका छन् । सो रोगका बिरामीका लागि अस्पतालमा व्यवस्था गरिएको ३० शय्या भरिभराउ भइरहेको डा. शाक्ले बताए । मुलुकभर फैलिएको कोरोना कहर, यसले सिर्जना गराएको बन्दाबन्दी अनि बढेको बेरोजगारीको समस्याले थप पैदा गराएको जाँडरक्सी सेवनका कारण सो रोगका बिरामी अस्पतालमा बढेका शाक्यको बुझाइ छ ।
कोरोना कहरमा कर्मचारीलाई तलब खुवाउन ग्राहो
पाटन अस्पताल सरकारी स्वामित्वमा सञ्चालन भएपनि सरकार मार्फत तलब खाने व्यवस्था नरहँदा कोरोनाको समयमा कर्मचारीलाई तलब खुवाउन निकै गाह्रो परेको डा.शाक्य बताउँछन् । अस्पतालले मासिक रुपमा कर्मचारीको तलबमा करिब ६ करोड खर्चिदै आएकोमा महामारीको समयमा कर्मचारीलाई तलब खुवाउन समेत धौ–धौ भएको डा. शाक्य बताउँछन् । नन्–कोभिडका बिरामीबाट हुने कमाइ घटे पश्चात् कोभिड बिरामीका लागि भन्दै सरकारले प्रदान गरेको रकमले नै अस्पताल चलेको थियो ।
प्रतिक्रिया