बिहीबार, वैशाख ११, २०८२

घट्न थाले नेपालमा एचआईभी संक्रमित

लक्ष्मी चौलागाईं २०७७ माघ २८ गते ११:१७

नेपालमा एचआईभी एड्स संक्रमितको संख्या घट्दै गएको सरकारी अध्ययनले देखाएको छ । पछिल्लो एक दशकमा संक्रमितको संख्या ६४ प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

हाल नेपालमा एचआईभी एड्स संक्रमितको संख्या २९ हजार ५ सय ३ छ । जसमध्ये १७ हजार ५ सय ८७ पुरुष तथा ११ हजार ९ सय १६ जना महिला छन् । पहिचान भएका मध्ये करिव ८० प्रतिशतमा असुरक्षित यौन सम्पर्कबाट संक्रमण भएको केन्द्रले जनाएको छ । त्यस्तै सुईबाट लागुपदार्थ सेवन गर्ने तथा पुरुष समलिङ्गी समुहमा संक्रमणदर उच्च रहेको पाइएको छ । एचआइभी नियन्त्रणका लागि हाल ८० वटा एआरटी केन्द्रबाट औषधी वितरण भईरहेका केन्द्रले जनाएको छ । सन् २०३० सम्ममा एड्स नियन्त्रण गर्ने सरकारी लक्ष्य छ ।

विश्वभर हाल ३ करोड ८० लाख मानिसमा एचआईभी एड्स रहेको अनुमान गरिएको छ । सन् १९८४ मा पहिचान भएको सो भाइरसलाई विगतमा ठूलो महामारीको रुपमा लिईन्थ्यो । यो भाइरसका कारण हालसम्म ३ करोड ५० लाख मानिसले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो समय भने एड्स संक्रमितको आयू बढाउनका लागि विभिन्न उपचार पद्धती विकास भइसकेको छ । एचआईभी संक्रमण अझै रहेको र यसविरुद्धको लडाईका लागि थप आर्थिक सहयोग, जनचेतना अभिवृद्धि, पूर्वाग्रहविरुद्धको लडाई र शिक्षामा लगानी आवश्यक रहेको तथ्यका लागि विश्वलाई झक्झक्याउन आवश्यक छ ।

यो एक यौन संक्रमित रोग हो । जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुने गर्दछन् । तर यो भाइरस संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलीकरण नगरिएका सिरिन्जको प्रयोगबाट, र्यालबाट, शरीरका अङ्गहरू प्रत्यारोपण गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ ।

एड्सका लक्षणहरु

– ज्वरो आउनु
– पखाला लाग्नु
– वजन घट्नु
– कुपोषणका लक्षणहरू देखिनु
– छालामा विभिन्न समस्या आउनु
– मुख तथा घाँटीमा सेतो आउनु
– दाँत वा गिजाका समस्याहरू
– खोकी वा स्वास फेर्न गाह्रो हुनु
– चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि

संक्रमण

– असुरक्षित यौन सम्पर्क
– एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
– सुई तथा सिरिन्जको साझा प्रयोगबाट
– संक्रमित आमाबाट बच्चामा

बच्ने उपाय

– सुरक्षित यौन व्यवहार अपनाउने
– सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने
– सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
– एचआइभी संक्रमित महिला गर्भवती नहुने
– यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
– आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
– अङ्ग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए, नभएको कुरामा विशेष ध्यान र्पुयाउने
– रगत दिँदा सो रगत संक्रमण भए नभएको पक्का गर्ने ।

प्रतिक्रिया