आइतबार, वैशाख ७, २०८२

लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन गम्भीर

नेपालखोज २०७७ माघ २९ गते २१:५५

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

बिहीबार साँझ सवा ५ बजे पूर्वी भेग दोर्दी खोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं. को जीप दोर्दी गाउँपालिका–६ सिमीगाउँ नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा आयोजनामा कार्यरत २ जना इन्जिनियर र जीप चालकको घटनास्थलमै मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् ।

धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका छन् । विद्यार्थीहरु स्कुल बिदा भएपछि गाउँ जान जीप चढेका थिए ।

घाइते उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बेंसीसहर ल्याइएको छ । घटनाबारे अध्ययन अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी नेतृत्वको टोली घटनास्थल खटाइएको छ ।

प्रतिक्रिया