शनिबार, वैशाख ६, २०८२

भागरथीको हत्या आरोपित युवक आफैं न्यायको आन्दोलनमा

नेपालखोज २०७७ फागुन ५ गते ११:२९

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका १६ वर्षीय दिनेश भट्ट पक्राउ परेका छन् । बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

भागरथीको हत्यामा संलग्न अभियुक्त दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई बयान दिएका छन् । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेका छन् । भागरथी पनि सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म बिद्यालयबाट घर नपर्किएपछि परिवारले खोजी गरेको थियो । त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा भेटिएको थियो । क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

घटनाको भोलिपल्ट अर्थात् माघ २२ गते अपरान्ह विद्यालयका सबै विद्यार्थी र गाउँलेहरु घटनास्थल पुगेर अपराधीलाई फाँसीसम्मको माग गरेका थिए । दिनेश पनि त्यही समूहमा नारा लगाएको अनुसन्धानका क्रममा खुलेको छ । तर आन्दोलनमा दिनेश लामो समय घटनास्थलमा बसेका भने थिएनन् । विद्यालयबाट नारा लगाउँदै घटनास्थल पुगेको दिनेश करिब १० देखि १५ मिनेटमात्रै घटनास्थलमा बसेका थिए ।

दिनेशले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । आफू बाटो ढुकेर बसेको र भागरथी त्यहाँ पुगेपछि जबरजस्ती गरेको उसले स्वीकार गरेका छन् ।

प्रतिक्रिया