बिहीबार, वैशाख ११, २०८२

आइपिएल २०२१ को अक्सन सुरु, सन्दीपको सम्भावना कति ?

नेपालखोज २०७७ फागुन ६ गते १५:२९

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन अहिले चेन्नईमा हुँदैछ । नेपाली समयअनुसार अक्सन दिउँसो ३ः१५ मा सुरु भएको छ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् ।

अक्सनमा १ सय ६४ भारतीय र १ सय २५ विदेशी खेलाडी छन् । त्यसमध्य तीन खेलाडी एसोसिएट देशका छन् । अक्सनबाट २२ विदेशी सहित ६१ खेलाडी बिक्ने छन् । ८ फ्रेन्चाइज टोलीको अक्सनमा खर्च गर्न पाउने कुल रकम १९६ करोड ६० लाख भारु छ ।

कोरोना महामारीको कारण लगातार तेस्रो पटक मिनि अक्सन भएको हो । तीन वर्षको अन्तरमा आइपिएलमा मेगा अक्सन हुने गर्दछ । सन् २०२२ मा मेगा अक्सन हुनुको साथै फ्रेन्चाइज टोली बढेर १० पुग्ने छ । एसोसिएटबाट नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अमेरिका तीव्र गतिका बलर अली खान र संयुक्त अरव (यूएई) का युवा स्पिनर कार्तिक मयप्यन छन् । यी तीनै खेलाडीलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ ।

पन्जाबले सर्वाधिक ५३ करोड २० लाख भारु खर्च गर्न पाउने छ । बेंगलोरले अक्सनमा खर्च गर्न पाउने बाँकी रकम ३५ करोड ९० लाख भारु छ । दिल्लीले अक्सनमा १२ करोड खर्च गर्न पाउने बाँकी रकम छ । कोलकाता नाइट राइडर्ससँग १० करोड ७५ लाख भारु छ । पाँच पटकको च्याम्पियन मुम्बईले अक्सनमा खर्च गर्न पाउने बाँकी रकम १५ करोड ३५ लाख भारु छ । सनराइजर्स हैदराबादको खाली कोटा एक विदेशी खेलाडी सहित ३ जना छन् । हैदराबादसँग १० करोड ७५ लाख भारु मात्र बाँकी छ ।

सन्दीप तीन वर्षे दिल्लीको यात्रा पछि अक्सनमा सहभागी हुँदै छन् । नेपाली समर्थकको ध्यान सन्दीप माथि हुने छ । सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु तोकेका छन् । तर स्पिनरको कोटा खाली हेर्दा मुम्बई र पन्जाबमा झिनो सम्भावना देखिन्छ । विश्वस्तरिय स्पिनरको प्रतिस्पर्धा बढी हुँदा सन्दीप नबिक्ने सम्भावना यस सिजनमा उच्च देखिन्छ ।

प्रतिक्रिया