भारतबाट १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ ।
एयर इन्डिया दिल्लीको विमानबाट आइतबार दिउँसो सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज कोरोना खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आज आएको हो । खोपको दोस्रो खेप पनि यही फागुन २३ गते अगावै आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ‘कोल्डरुम’मा लगिने छ । यही फागुन २३ गतेदेखि सञ्चालन हुने नयाँ खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणको खोप अभियानमा ५५ वर्ष माथिका नागरिक र जोखिम समूहलाई प्राथमिकता दिइनेछ ।
भारत सरकारले गत माघ ८ गते १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । जस अनुसार पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया