बिहीबार, वैशाख ११, २०८२

राष्ट्र बैंक आगामी मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

नेपालखोज २०७७ फागुन ९ गते १७:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मंगलबार अर्थात यही फागुन ११ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार निष्काशन मिती यही फागुन १२ गते तोकेर आठ बर्षे अवधिको बिकास ऋणपत्र २०८५ “घ” (८ बर्षे) बिक्री गर्न लागिएको हो ।

बोलकबोलको माध्यमद्वारा बिक्री हुने उक्त ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंगलबार दिउँसो ३ बजेसम्म नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।राष्ट्र बैंकका अनुसार अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने यो ऋणपत्रको परिपक्व हुने अवधि वि.सं. २०८५ साल फागुन १२ गते तोकिएको छ ।

खरिदकर्ताहरुलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा छुट्याइएको यो ऋणपत्र प्रतिस्पर्धी समूहलाई कुुल निष्काशित रकमको ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ छुुट्याएको छ । बाँकी रहेको १५ प्रतिशत अर्थात् एक ५० करोड रुपैयाँ बराबरको ऋणपत्र भने अप्रतिस्पर्धी समूहलाई बिक्री गरिनेछ ।

राष्ट्र बैंकका अनुसार खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नुपर्नेछ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । तर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीरुपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार भने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया