शनिबार, वैशाख ६, २०८२

बाग्लुङमा १० कृषि परियोजनाका कृषकलाई ८ करोड अनुदान

नेपालखोज २०७७ फागुन १० गते ११:०१

बागलुङ । कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरू गरेको छ ।

१ महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ । 

केन्द्रले बागलुङमा आर्थिक वर्ष २०७७/७८ का लागि अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । अनुदानका लागि आएका ५८७ प्रस्तावमा विगतका वर्षमा अनुदान नपाएका, लगानी गर्न सक्ने तथा दुर्गमतालाई आधार मानेर २२१ कृषि फर्म स्वीकृत गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार ८ करोड १७ लाख अनुदान १० प्रकारका परियोजनाका २२१ कृषि फर्मलाई दिन लागिएको हो । 

षि ज्ञान केन्द्र बागलुङ स्थापनासँगै योजनाहरू अगाडि बढाइएको छ, अहिले १० प्रकारका परियोजनाका लागि ८ करोडभन्दा बढी २२१ कृषि फर्मलाई प्रदान गर्न थालिएको छ,’ केन्द्र प्रमुख भट्टराइले भने, ‘तत्कालै सम्झौता गरी जेठभित्र सबै योजना सक्नुपर्ने हुन्छ,  अनुदान प्राप्त रकमअनुसार किसानको तर्फबाट समेत ५० प्रतिशत र सोभन्दा माथिको काम गर्नुपर्ने प्रावधान समेत रहेको छ ।’ 

सबै योजनाको अनुदान १ लाखदेखि ३ लाखसम्म रहेका छन् । जिल्लाभरबाट छनोटमा परेका १० परियोजनामा साना सिँचाइका ५८ योजनामा २ करोड, साना व्यवसायी कृषि फर्म स्थापना गर्ने ७२ योजनामा १ करोड ८ लाख, हरित गृह निर्माणका लागि ३२ योजनामा ४८ लाख रुपैयाँ, फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापनाका लागि २ योजनामा ५ लाख, स्थानीय कृषि उपज बिक्री केन्द्र स्थापनाका लागि ३ योजनामा १० लाख ५० हजार रुपैयाँ र ग्रामीण क्षेत्र करेसावारी घर र बगैंचा निर्माण गर्न १३ योजनामा १० लाख रकम अनुदानमा प्रदान गरिने छ । 

मूल्य शृंखलामा आधारित योजनाका २ वटा फर्मलाई २५ लाख रुपैयाँ, प्राङ्गारिक कृषि कार्यक्रमका लागि २७ योजनामा ८३ लाख, आलुखेती प्रर्वद्धन विशेष कार्यक्रम अन्तर्गत ७ योजनामा ८३ लाख रुपैयाँ र क्लस्टर रैथाने बाली संरक्षण गर्ने ६ योजनाका लागि १५ लाख अनुदान दिइने केन्द्र प्रमुख भट्टराइले जानकारी दिए ।

कृषि फर्म छनोटमा महिला तथा दलित समुदायले गर्दै आएको व्यावसायिक कृषि फर्मलाई समेत प्राथमिकतामा राखिएको छ । केन्द्रले जिल्लामा सञ्चालित ८ कृषि ब्लकलाई सुधार र ३ ब्लक थप गर्न समेत बजेट विनियोजन गरेको छ । 

जिल्लामा रहेका विभिन्न प्रकृतिका ८ कृषि ब्लकलाई सुधार गर्न १ करोड ७५ लाख विनियोजन गरिएको छ । बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकामा मकै  ब्लक स्थापना गरिने भएको छ भने ढोरपाटनमा तरकारी ब्लक स्थापना गरिनेछ ।

ब्लक स्थापना गर्नका लागि समिति गठन गरी कार्य शुरू गर्न ७५ लाख रुपैयाँ दिइने केन्द्रले जनाएको छ । संघीयता कार्यन्वयनसँगै खारेजीमा परेको कृषि कार्यालय जिल्लाबाहिर हुँदा योजना परे पनि किसानले टाढा भएका कारण समस्या भोग्दै आएकामा अहिले जिल्लामै कृषि कार्यालय स्थापना भएपछि निकै सहज भएको कृषक रामबहादुर खड्काले बताए ।

खड्का अध्यक्ष भएको गणेश कृषि व्यावसायिक सहकारी संस्था सिगानाले समेत साना सिँचाइ परियोजना अन्तर्गतको अनुदान योजना प्राप्त गरेको छ ।

प्रतिक्रिया