आइतबार, वैशाख ७, २०८२

बहुविवाह गर्नेलाई एक वर्ष कैद, १० हजार जरिवाना

नेपालखोज २०७७ फागुन १८ गते ११:५५

सप्तरी । बहुविवाहका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार सिरहाको लहान नगरपालिका-१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

चौधरीकी श्रीमती गयादेवी चौधरीले उनीविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । उनीहरुका १० वर्षीया एक छोरी छिन् । विनोदले सप्तरीको सुरुङ्गा नगरपालिका–५ की २८ वर्षीया फुलकुमारी चौधरीसँग बहुविवाह गरेका हुन् । गयादेवीले २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।

आरोपित चौधरी सुरुङ्गा नगरपालिका–६ स्थित श्री त्रियुगा डिस्टिलरीमा कार्यरत थिए । बहुविवाहको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले विनोदलाई २०७५ भदौ १५ गते पक्राउ गरेको थियो । सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित विनोद २०७५ असोज ११ गते ५० हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

बहुविवाह गर्ने फुलकुमारी भने हालसम्म पक्राउ परेकी छैनन् । उनको हकमा मुद्दा मुल्तबी राखिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया