किन घटिरहेछ शेयरको मूल्य ?

काठमाडौं । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आउँदा हिजो मंगलबार २३.२२ अंकले ओरालो लागेको छ । कारोबारको सुरुवातबाटै ओरालो लागेको नेप्से परिसूचक २४८५.१ को बिन्दुबाट सुरु भएको थियो । अन्तिम समयसम्म आउँदा परिसूचक ०.९३ प्रतिशतले घटेर २४६१.८८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
नेप्से सेन्सेटिभ पनि कारोबारको अन्तिम समयसम्म नै ओरालो यात्रामै कायम रह्यो । सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ को बिन्दुमा पुगेको छ । नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा पनि कारोबारका १३ उपसमूहमध्ये होटल समूह र हाइड्रोपावर समूहमा भने लगानीकर्ता आकर्षण देखिएको छ ।
अन्तिम समयसम्म होटल समूह २.९८ प्रतिशत र हाइड्रोपावर समूह १.८ प्रतिशतले बढेका छन् । यस्तै, म्युच्अल फन्ड पनि अन्तिम समयसम्म आउँदा ०.०१ प्रतिशतले बढेको हो । मंगलबार २१० कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४० कम्पनीको सेयर मूल्य बढेको छ ।
कारोबारमा आएका उक्त कम्पनीहरूले १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर ५२ हजार ५९१ पटक खरिदबिक्री हँुदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अन्तिमा समयसम्म शिखर इन्स्योरेन्सले ६५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको भने अपर तामाकोसी हाइड्रोपावरले २९ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।
सेयर घट्नुको कारण ?
बजारबाट नाफा बुक गरेका लगानीकर्ताहरू फेरि आक्रामक हिसाबले प्रवेश गर्न बाँकी नै रहेकाले नेप्से केही प्रभावित भएको हो । ट्रेडरहरूले अझै तल्लो बिन्दुको अपेक्षा गरेर बसेका छन् भने अरू लगानीकर्ता पनि ‘पर्ख र हेर’कै अवस्थामा रहेका छन् ।
बजार घटेका बेला अझै तल झर्छ कि भन्ने आम मानसिकता हावी हुने भएकाले सेयर घट्दै गएको हो । वारेन बफेटसहित विश्वका सफल लगानीकर्ताहरूको सुझाव भने बजार घटेका बेला किन्ने अनि बढेका बेला बेच्ने भन्ने नै रहेको छ । घटेका बेला अझै तल जान्छ कि भने त्रसित मानसिकता हावी हुनु पनि बजार घट्नुको अर्को कारण हो ।
तर, सेयर बजारको ‘मास साइकोलजी’ भने जहिले पनि योभन्दा उल्टो हुने गरेको पाइन्छ । बढेका बेला जति मूल्य पनि तिर्न तयार हुने आम लगानीकर्तासमेत घटेका बेला सस्तो भाउमा समेत किन्न हिच्किचाउने प्रवृत्ति देखिन्छ । बैंकले कर्जामा ब्याजदर बढाउँदै छ । तरलता अभाव हुन्छ भने जस्ता हल्लाले पनि सेयरको मूल्यमा प्रभाव परेको हो ।
राजधानी दैनिकबाट
प्रतिक्रिया