फागुन महिनामा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । फागुन महिनामा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको फागुन महिनाभरीमा मात्रै पौने चार लाख डिम्याट खाताहरु खोलिएका छन् ।
केन्द्रीय निक्षेप प्रणाली सिडिएससीका अनुसार फागुन २८ गते शुक्रबारसम्म डिम्याट खाता खोल्नेको संख्या ३१ लाख ५१ हजार २८९ पुगेको छ । गत माघ ३० गतेसम्म २७ लाख ७५ हजार २८९ मात्र डिम्याट खाता खोलेका थिए ।
यो एक महिनाको अवधिमा ३ लाख ७६ हजार डिम्याट खाता खोलिएका हुन् । शेयर बजारप्रति सर्वसाधरणको रुची र आकर्षण बढेपछि पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या पनि बढेको छ ।
साथै अहिले आइपीओमा आवेदन गर्नेको संख्या नै १८ लाख बढी छ । पछिल्लो पटक खुलेको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जनाले आवेदन गरेका थिए ।
साधारण शेयरमा आवेदन दिन देखि दोस्रो बजारमा कारोबार गर्नका लागि समेत डिम्याट खाता अनिवार्य हुनुपर्छ । जसलेगर्दा ब्रोकर कार्यालयदेखि बैंकहरुमा डिम्याट खाता खोल्नेको बाक्लो उपस्थिति हुने गरेको छ ।
प्रतिक्रिया