दूतावासअघि पत्रकार दाहालमाथि दुर्व्यवहार, प्रेस युनियन काठमाडौं शाखाद्वारा भर्त्सना

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले पत्रकारमाथि भएको दुर्व्यवहारको घटनाप्रति भर्त्सना जनाएको छ । नेपाल प्रेस युनियन काठमाडौं शाखाका सदस्य तथा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार केदार दाहालमाथि भारतीय दूतावासअगाडि भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाइएको हो ।
‘नेपाल प्रेस युनियन पत्रकारको पेसागत सुरक्षा र हकहितको सवालमा अनवरत उभिँदै आएको संगठन हो । पत्रकारमाथि हुने कुनै पनि हमला र सूचना संकलनमा लगाइने अवरोध हाम्रा लागि सदा अस्वीकार्य छ,’ काठमाडौं शाखा अध्यक्ष जगन्नाथ दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलनका क्रममा पत्रकार दाहालमाथि भएको थियो । पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादति पत्रकारमाथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको प्रेस युनियनले जनाएको छ । काठमाडौं शाखा अध्यक्ष दुलालले समाचार संकलनमा अवरोध गर्ने र पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि तत्काल छानबिन गरी कडा कारबाहीको मागसमेत गरेका छन् । ‘पत्रकारले सहज रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अवस्था प्रत्याभूत गर्न नेपाल प्रेस युनियन सरकारको ध्यानाकर्षण गर्दछ,’ शाखा अध्यक्ष दुलालद्वारा जारी विज्ञप्तिमा छ, ‘अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि जस्तोसुकै कडा अन्दोलनमा ओर्लिन तयार रहेको चेतावनी दिन चाहन्छौं ।’
प्रतिक्रिया