सोमबार, वैशाख ८, २०८२

कोरोना संक्रमणबाट पत्रकार अधिकारीको निधन

नेपालखोज २०७८ वैशाख ८ गते १३:४४

काठमाडौं । दाङ घोराहीका पत्रकार दामोदर अधिकारीको कोरोना संक्रमणका कारण निधन भएको छ । उनलाई चैत २७ गते कोरोना पोजेटिभ देखिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि हेलिकोप्टरबाट गएराति नै काठमाडौं ल्याइएको थियो । काठमाडौंको करुणा अस्पतालमा उपचारका क्रममा उनको गएराति निधन भएको हो ।

अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गरेका थिए । उनको निधनप्रति नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले दु:ख व्यक्त गरेका छन् । ‘कोरोनासँगको लडाइँमा तिमीले हारेका छौं, तर पनि हाम्रो मनमा तिम्रो बास भइरहनेछ । अलबिदा प्यारो मान्छे…,’ उनले फेसबुकमा लेखेका छन् ।

पछिल्लो समय दाङमा कोरोना संक्रमितको संख्यामा बढेको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दाङमा अहिले १३३ जना र जिल्ला बाहिर ४१ जना कोरोनाका सक्रिय संक्रमित छन् । दाङमा हिजो (मंगलबार) मात्रै ३० जनामा संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया