आइतबार, वैशाख ७, २०८२

लुरे विज्ञान र मान्छे !

डा. सुरेन्द्र सिटौला २०७८ वैशाख ११ गते ८:४५

मान्छे !
यसो गर्छ उसो गर्छ
आफैंसँग भाग्छ
ईश्वरसँग माग्छ
समयसँग डराउँछ
मृत्यु देखेर कराउँछ
अज्ञानसँग रमाउँछ
ज्ञानसँग सर्माउँछ
मान्छे !
अभिमान बचाउन
लुरे विज्ञान बोलाउँछ
हारेर आफैंसँग
ज्ञानको घर धाउँछ
लुरे विज्ञान बोकेर फेरि
आफ्नै घर आउँछ
मान्छे !
यसो गर्छ उसो गर्छ
गुनासोले आफ्नै मन भर्छ
फलतः
आफैंसँग भाग्छ
आफ्नो सबै हारेपछि
ईश्वरसँग माग्छ
थोरै बेसाहा पाएपछि
उसको अभिमान जाग्छ
थाहै नपाइ उसले
फेरि
उसैको स्वाभिमान भाग्छ
आत्तिएर
ऊ फेरि कराउँछ
आयुको म्याद थप्‍न
लुरे विज्ञानको फेर समाउँछ
निष्काम कर्मका मनहरु
लोभले थर्थरी कमाउँछ
मनभित्र कुबेरी-दरबार सजाउँछ
उसले थाहा नपाउँदै
आयुको म्याद बोकेर
मृत्यु घरको ढोकामा आउँछ
उ फेरि
लुरे विज्ञान बोलाउँछ
विज्ञानको अज्ञान
धामी भएर
एकछिन बर्बराउँछ
अन्ततः
सूर्यास्त हुनै लाग्दा
लुरे विज्ञान साक्षी रखेर
मान्छे !
अन्तिमपटक
जीवनको अधुरो गीत गाउँछ
अनि ईश्वरसँग
कहिल्यै नछुट्ने
अनन्त मीत लाउँछ
मलाई थाहा छैन
तर
मान्छेहरु भन्छन्
ईश्वर र मान्छेको सृष्टि
यसरी नै
सदियौंदेखि रमाउँछ

प्रतिक्रिया