सोमबार, वैशाख ८, २०८२

कतार गए अनिवार्य क्वारेन्टिन

नेपालखोज २०७८ वैशाख १५ गते १४:२९

काठमाण्डौं । नेपालसहित ६ देशबाट कतार जानेले अनिवार्य क्वारेन्टिन बस्नेपर्ने भएको छ । कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट भोलिदेखि कतार प्रवेश गर्नेहरुलाई अनिवार्य क्वारेन्टिनको नियम लागु गरेको हो।

पछिल्लो समय भारतमा देखा परेको कोरोनाको नयाँ भेरियन्टका कारण सतर्कता अपनाउन कतारको जनस्वास्थ्य मन्त्रालयको सोमबार बसेको बैठकले अप्रिल २९ अर्थात भोलिदेखि यो नियम लागु हुने जनाएको छ ।

यी देशबाट कतार प्रवेश गर्नेलाई १० दिन होटल क्वरेण्टिन वा १४ दिन मेकाइनिस क्वारेन्टिन बस्नुपर्ने भएको हो । यस्तै यी देशबाट कतार प्रवेश गर्दा तोकिएको स्वास्थ्य केन्द्रबाट पीसीआर परीक्षण गरिएको २४ घण्टा अघिको रिपोर्ट साथमा राख्नुपर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यो प्रावधान कतारमा कोरोना विरुद्धको खोप लगाइसकेका व्यक्तिको हकमा समेत लागु हुने भएको छ । यस्तै कतारलाई ट्रान्जिट बनाइ अन्य देशमा यात्रा गर्ने सबै यात्रुलाई पनि पीसीआर परीक्षण अनिवार्य गरेको छ ।

आफ्नो गन्तव्य देश जानेहरुलाई पीसीआर परीक्षण आवश्यक परेमा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन सय कतारी रियाल तिरेर कोरोना परीक्षण गर्न मिल्ने व्यवस्था रहेको पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया