निषेधाज्ञामा पनि रोकिएन वाग्मती सफाइ महाभियान

काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड १९)बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा वाग्मती सफाइ महाअभियानको ४१६औँ हप्ताको सफाइ गरिएको छ ।
पशुपति क्षेत्रस्थित वाग्मती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन स्थानमा वाग्मती सफाइ गरिएको हो । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवम् अभियानकर्मी डा माला खरेलको नेतृत्वमा सफाइ गरिएको हो ।
सफाइमा काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अधिकार सम्पन्न वाग्मती समितिका सरस्वती निरौलाको सक्रियता थियो ।
पशुपति क्षेत्र विकास कोषमा धेरै सफाइकर्मी कर्मचारी भए पनि पशुपति क्षेत्र भने सफाइ हुननसकेको अभियानकर्मीको टिप्पणी गरेका छन् । खोलाभित्र प्रवेश गरेर तीन अभियानकर्मीले सफाइ गरेका थिए ।
यसैगरी अभियानकर्मी डा लक्ष्मी पोडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती नदी क्षेत्रमा सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले गोठाटार पुलमुनिको साकुरा बगैँचा क्षेत्रमा सफाइ गरेको छ ।
सबै सफाइ अभियानका भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको जनाइएको छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिर मुख्य शहर, प्रमुख नदी र सांस्कृतिक सम्पदास्थल क्षेत्रमा सफाइ अभियान जारी छ ।
प्रतिक्रिया