आइतबार, वैशाख ७, २०८२

प्रेस स्वतन्त्रता दिवस : नेपालमा ५१७ पत्रकार पेसागत सुरक्षाबाट पीडित

नेपालखोज २०७८ वैशाख २० गते ९:१६

काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ ।

नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेसागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ ।

यो अवस्थालाई दृष्टिगत गर्दै महासङ्घले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोरोनाको सङ्क्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गरेका छन् ।

महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यस वर्ष ४५ वटा छन् । ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन् । यस्तै ५८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । महासंघको अभिलेखअनुसार यस वर्ष छ पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन् । त्यसैगरी आक्रमणबाट ४८ र दुर्व्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् भने ५१७ पत्रकार विस्थापनमा परेका छन् ।

प्रतिक्रिया