चितवनमा अक्सिजनको अभाव छैन, तीन सय जनासम्मलाई आफ्नै उत्पादनले धान्ने

चितवन । कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जिल्लामा रहेका कारण अक्सिजन पर्याप्त रहेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका आफ्नै अक्सिजन प्लान्ट रहेका छन् ।
ती अस्पतालले अहिले कोभिडको उपचार गरिरहेका छन् । यसका अतिरिक्त भरतपुर महानगरपालिका–१ रामनगरमा स्वर्गद्वारी अक्सिनन प्लान्ट रहेको छ । नवलपरासीको परासीमा रहेको शङ्कर अक्सिजन ग्यास र परवानीपुरमा रहेको भाजुरत्नको अक्सिजन ग्यास पनि यहाँ आउने गर्दछ ।
यहाँ उत्पादन भएको ग्यासको ४० प्रतिशत हाराहारी उद्योगमा खपत हुने गरेको छ । अभाव हुँदै गएमा उद्योगमा पठाउने अक्सिजन रोक्न सकिने तिवारी बताए । अक्सिजन उद्योगलाई उद्योगमा पठाइएका सिलिन्डर फिर्ता ल्याउन भनिएको छ उनले बताए ।
निजी क्षेत्रबाट अक्सिजन उत्पादन गर्दै आएको स्वर्गद्वारी अक्सिजन प्लान्टका निर्देशक निरञ्जन न्यौपानेले जिल्लामा अहिले पाँच हजारभन्दा बढी सिलिन्डर रहेको जानकारी दिए ।
ठूला ४७ लिटरका र साना १० लिटरका सिलिन्डर बढी प्रयोगमा आउने गरेका छन् । केही मध्यम खालका पनि रहेको उनले बताए । सेन्ट्रल अक्सिजन सप्लाई भएकाले धेरैले ठूला सिलिन्डर प्रयोग गर्ने गरेका छन् । सो उद्योगले भैरहवा, वीरगञ्जलगायतका औद्योगिक क्षेत्रमा अक्सिजन पठाउँदै आएको थियो । हाल भने पठाउन रोकिएको उनको भनाइ छ ।
यहाँको भरतपुर अस्पतालमा आफ्नै प्लान्ट छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार ६० प्रतिशत आफ्नै उत्पादनले धान्ने गरेको छ । नपुग निजी क्षेत्रबाट ल्याउने गरिएको छ ।
दैनिक ५० सिलिन्डर भरेर ल्याउने गरेको उनले जानकारी दिए । चितवन मेडिकल कलेजले आफैँ अक्सिनन उत्पादन गर्दै आएको छ । प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार ३०० जनासम्मलाई आफ्नै उत्पादनले धान्न सक्छ । अस्पतालमा चालु अवस्थाका र खाली सिलिन्डर जगेडाका रुपमा समेत राखिएको देवकोटाले बताए ।
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालले लगानी गरेको गैँडाकोटको सिद्धिविनायक अक्सिजन उद्योग रहेको छ । सो उद्योगले आफू र अन्य क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्दै आएको छ ।
उद्योगको ८० प्रतिशत खपत चितवनमा हुन्छ । यहाँका अस्पताल, एम्बुलेन्स, निजी अस्पताललगायत भाजुरत्न र शङ्कर उद्योगले अक्सिजन उपलब्ध गराउँदै आएका छन् ।
केही दिनअघि मात्रै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरोकारवालाले उद्योग र सप्लायर्सको अनुगमन गरेको थियो ।
प्रजिअ प्रेमलाल लामिछानेले तत्कालका लागि जिल्लामा अक्सिजनको अभाव नभएको बताए ।
आफ्नै नेतृत्वमा स्थलगत निरीक्षण गरी आवश्यक निर्देशनसमेत दिइएको उनले जानकारी दिए । रासस
प्रतिक्रिया