मंगलबार, वैशाख ९, २०८२

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव

नेपालखोज २०७८ वैशाख २३ गते १२:१३

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ ।

बिरामीले भरिएको अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । बितेको २४ घण्टादेखि प्रयास गर्दा पनि अक्सिजन उपलब्ध नभएको अस्पतालले जनाएको छ ।

सङ्क्रमितको सङ्ख्यासँगै अक्सिजनको खपत बढ्दा अक्सिजन अभाव भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

दिउँसोसम्म अक्सिजन आपूर्ति नभएमा अवस्था नियन्त्रण बाहिर जाने उनले बताए । अस्पतालमा दैनिक दुई सय सिलिण्डर अक्सिजन आवश्यक पर्नेमा दैनिक ८० देखि एक सय सिलिण्डर मात्रै आपूर्ति भइरहेको छ ।

अस्पतालले नेपालगञ्जबाट अक्सिजन आपूर्ति गरिरहेको छ । अरु जिल्लामा पनि अक्सिजनको माग बढी भएकाले सप्लायर्सले नियमितभन्दा धेरै आपूर्ति गर्न नसक्ने बताएपछि समस्या आएको अस्पतालले जनाएको छ ।

अस्पतालले अरु आपूर्तिको पहल गरे पनि अहिलेसम्म कुनै सप्लायर्ससँग सम्झौता हुन सकेको छैन । अस्पतालकै अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइए पनि अपुग भएको छ ।

प्रादेशिक अस्पताल मातहत रहेको धागो कारखानामा रहेकाे कोरोना विशेष अस्पतालमा दैनिक एक सय ५० सिलिण्डरको खपत हुँदै आएको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले नागरिक हेल्प डेस्कबाट दैनिक चार सय देखि पाँच सय सिलिण्डर अक्सिजन आपूर्ति गरिदिन सामाजिक सञ्जालमार्फत याचना गरेकाे छ ।

प्रतिक्रिया